निर्वाचन भएको चार वर्ष पछि पराजित भनिएका व्यक्ति वडाध्यक्षमा विजयी


महोत्तरी, ८ कात्तिक । निर्वाचन भएको चार वर्ष पछि पराजित भनिएका महोत्तरीका एक जना वडाध्यक्ष विजयी घोषित भएका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका–१० को वडाध्यक्षका लागि भएको पुन : मत गणनामा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका हुन् ।

यसअघि निर्वाचन आयोगले उक्त वडाबाट मत बराबरी भएको भन्दै गोलाप्रथाद्वारा नेपाली काँग्रेसका अरुणकुमार चौधरीलाई विजयी घोषित गरेको थियो । तर चौधरी धाँधली गरी निर्वाचित भएको भन्दै रायले अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले २०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको थियो । तर उच्च अदालतको आदेशविरुद्ध अरुण कुमार चौधरी सर्वोच्चसम्म मुद्दा दायर गरेका थिए । तर सर्वोच्चले २०७७ चैत ६ गते उच्च अदालत जनकपुरको फैसलालाई सदर गरिदिएको थियो ।

त्यसपछि भएको पुनः मत गणना गर्दा राय दुई मतको झिनो अन्तरले निर्वाचित भएको निर्वाचन अधिकृत खगराज अधिकारीले जानकारी दिएका छन् । रायले २६८ मत ल्याउँदा चौधरी २६६ मत मात्रै ल्याए । तत्कालीन राजपाले टिकट नदिएपछि रायले स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्