सुडानमा सैनिक कु, प्रधानमन्त्री नजरबन्दमा, मन्त्रीहरू पक्राउ


काठमाडौँ, ८ कार्तिक । सुडानमा सैनिक कु भएको छ । सुडानको सेनाले सोमबार बिहानै प्रधानमन्त्री अब्दल्लाह हामडोकलाई उनकै घरमा नजरबन्दमा राखेको छ भने सरकारका मन्त्रीहरूलाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा उद्योग मन्त्री, सूचना मन्त्री र प्रधानमन्त्रीका मिडिया सल्लाहकार रहेको, सुडानको सत्तारुढ सोभरेन काउन्सिलका प्रवक्ता मोहम्मद अल फिकी सुलिमान र राजधानी सहर खार्तोमका गभर्नर आदि रहेका छन् । त्यस्तै वर्तमान सरकारमा रहेका मन्त्रीहरूका साथै केही राजनैतिक पार्टीका नेताहरूसमेत पक्राउ परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सुडानमा सेना र जनप्रतिनिधिको सङ्क्रमणकालीन अवस्था रहेको संयुक्त सरकारबारे लामो समयदेखि विवाद सिर्जना हुँदै आएको थियो । सन् २०२३ को अन्तिममा आम निर्वाचन गरेर जनप्रतिनिधिलाई नै सत्ता सुम्पिने सम्झौताअनुसार सङ्क्रमणकालीन सरकार गठन भएको थियो ।

सुडानमा गत महिना पनि सैन्य कूको प्रयास भएको थियो । अहिले खार्तोममा सबै सञ्चारका माध्यममा रोक लगाइएको अलजाजिराले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्