केराबारीमा प्रथम स्व. राजु सोदेन फुटबल कप २०७८ को उद्घाटन : झापाको विजयी सुरुवात


केराबारी, ८ कार्तिक । खेलकुदको माध्ययमवाट केराबारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ केराबारीमा प्रथम स्व. राजु सोदेन स्मृति कप २०७८ सुरु भएको छ । केराबारी ८ मा रहेको मच्छिन्द्र माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले गरेका छन् । 

सोमवार सम्पन्न प्रतियोगिताको पहिलो उद्घाटन खेलमा झापा फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।बसाहा फुटबल क्लब उदयपुरलाई १ को विरुद्ध ४ गोल गर्दै झापाले विजयी सुरुवात गरेको हो । झापाका खेलाडी गणेश हेम्बू्रंगले खेलको ११ औँ मिनेटमा पहिलो गोल गरी गोलको खाता खोलेका थिए । त्यसपछि लगतै पहिलो हाफको १९ औँ मिनटमा सरोज कार्कीले पुन : अर्को गोल थपेका थिए ।

उदयपुरका तर्फबाट पहिलो हाफको १८ औँ मिनटमा पवन कार्कीले गोल फर्काएका थिए । तर उदयपुरका खेलाडीले प्राप्त गरेका अवसरलाई सदुपयोग गर्न नसक्दा लज्जास्पद हार बेहोर्नु परेको थियो । खेलको म्यान अफ दी म्याच झापाका खेलाडी रोहन कार्की घोषित भएका छन् । उनले नगद सँगै टफी प्राप्त गरेका छन् । मङ्गलवार हुने दोस्रो खेल १० नवोदय फुटबल क्लब पथरी र विराटनगर स्पोर्टस क्लब बिच हुने आयोजकले जनाएको छ । 

सोमवार सुरु भई १५ गते सम्पन्न हुने प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापाका विभिन्न आठ वटा टिमले सहभागिता जनाउने स्व.राजु सोदेन स्मृति कप मूल आयोजक समितिका प्रवक्ता अनिल ठकुरीले जानकारी गराएका छन् । प्रतियोगिताका विजेता टिमले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५१ हजार १ सय ११ शिल्ड तथा प्रमाण पत्र पाउने छन् । 

प्रतिक्रिया दिनुहोस्