न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बारको भनाइ


काठमाडौँ, ८ कार्तिक । नेपाल बार एसोसिएसनले न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनु पर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

कार्यपालिकासँगको साँठगाँठ र अन्य विवादका कारण प्रधानन्यायाधीश राणाले न्यायालय संहाल्न नसक्ने भन्दै निकास दिनुपर्ने निष्कर्ष निकालेको बारका एक पदाधिकारीले जानकारी दिएका छन् । 

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश आफैले निकास दिनुपर्छ भन्ने निर्णय गरेको बताए । अध्यक्ष चण्डेश्वर श्रेष्ठले सबै सल्लाहकारहरूसँग बृहत् छलफल गरेपछि बारको औपचारिक निर्णय भने मंगलवार मात्र सार्वजनिक हुने बताए । 

उता प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सोमवारका लागि बोलाएको पूर्ण बैठकमा सर्वोच्च अदालतका १४ न्यायाधीश सहभागी भएनन् । न्यायालयको गरिमा र स्वतन्त्रताबारे सर्वत्र बहस हुँदा सहकर्मी न्यायाधीशहरूसँग एक पटक पनि छलफल नगरी फुल कोर्टको बैठक डाकेको भन्दै आफूहरूले प्रधानन्यायाधीशले आज बोलाएको बैठक बहिस्कार गर्ने निर्णय गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्