शिल्पी थ्रिएटरको मुक्त रङ्गमञ्च अभियान : बेलबारीमा ‘ठूला माछा – साना माछा’ मञ्चन


बेलबारी, ८ कार्तिक । शिल्पी थ्रिएटर काठमाडौँले पछिल्लो समय मुक्त रङ्गमञ्च अभियानअन्तर्गत प्रदेश नं १ मोरङ, झापा तथा सुनसरी विभिन्न स्थानमा ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरिरहेको छ ।       

विराटनगरबाट सुरु भएको नाटक टोली, रङ्गेली, विराटचोक हुँदै बेलबारी बेलबारीसम्म आइपुगेको यो नाटक, पथरी, दमक, विर्तामोड, काँकडभिट्टा, इटहरी, धरान, इनरुवा लगायतका स्थानमा मञ्चन हुने बताइएको छ । नाटक कार्तिक ४ देखि १७ गते सम्म प्रदर्शन हुने आयोजकले जनाएको छ ।  यही क्रममा आज (सोमवार) बेलबारी ३ मा रहेको सिर्जना घरको प्राङ्गणमा ‘ठूला माछा–साना माछा’ नाटक मञ्चन गरिएको छ । छोटो समयमा धेरै कुरालाई समेटेर कलात्मक रूपमा प्रस्तुत भएको यो नाटकले धेरैको मन जितेको छ ।   

देशमा भ्रष्टाचारको जालोले तलदेखि माथि सम्म नै जेलेको छ । दलाल र बिचौलियाले गर्दा सरकारी कार्यालयहरू दङ्दङगी गन्हाएका छन् । योजनाका नाममा मनपरी रूपमा राज्यको ढिकुटी खर्च भएका छन् । सर्वसाधारणले दुःख पाएका छन् । सर्वसाधारणले सानो कामका लागि दिनहुँ धाउनु पर्ने बाध्यता रहेको छ । कति ठाउँमा त यति हुँदा पनि ऊ काम नभई फर्कन विवश छ । यो नाटकले राजनीतिक नेतृत्व, स्थानीय सरकार तथा कर्मचारीद्वारा सर्वसाधारणलाई दिइएको दुःखको विषयलाई मिहिन ढङ्गले उतार्न सफल भएको छ । स्थानीय तहमा विकासका नाममा भइरहेका मनपरी र आर्थिक अनियमिततालाई नाटकको माध्यमबाट नेपाली जनतालाई देखाउने प्रयास गरिएको नाटकका परिकल्पनाकार तथा निर्देशन घिमिरे युवराज बताउँछन् ।          

दर्शनहरूले भने नाटकमा सर्वसाधारण जनताको पीडालाई जस्ताको तस्तै रूपमा उतारिएको प्रतिक्रिया दिएका छन् ।  स्थानीय सरकारका काम कारबाहीप्रति कडा रूपमा व्यङ्ग्य गरिएको दृश्य टुलुटुलु हेरिरहेका बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह यो नाटकले एउटा विषयलाई भन्दा मुलुकमा भएको सारा बेथितिलाई उठाएको बताउँछन् ।

सिर्जना घरका सञ्चालकसमेत रहेका विकास बुढाथोकी ‘ठूला माछा – साना माछा’ नाटकमा नेपाली समाजको यथार्थ परिवेशको प्रतिकात्मक प्रस्तुति रहेको प्रतिक्रिया दिन्छन् । 

प्रदेश नं १ का विभिन्न सहरमा मञ्चन भइरेको नाटकमा पवित्रा खड्का, रेनुका कार्की ढोली, सविन कट्टेल, संगीता उराँव, मानहाङ लावती, असीम खनाल, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल तथा  संजीत थुलुङ राई लगायतले अभिनय गरिरहेका छन् । 

वि.सं. २०६३ सालमा स्थापित शिल्पी नाट्य यात्राले अभिनय सम्बन्धी तालिमसमेत सञ्चालन गर्दै आएको छ । यस संस्थाले नाटक सम्बन्धी पुस्तकहरू पनि प्रकाशन गर्ने गरेको छ । यसले देशमा मात्र नभएर विदेशमासमेत बेला–बेला विभिन्न नाटक मञ्चन गर्दै आएको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्