‘न्यायालयको गरिमा बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनु नै उपयुक्त हुन्छ’: भीमार्जुन आचार्य


काठमाडौँ, ९ कार्तिक । संविधानविद् भीमार्जुन आचार्यले न्यायालयको गरिमालाई बचाइराख्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनु नै उपयुक्त हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै संविधानविद् आचार्यले उक्त विचार व्यक्त गरेका हुन् । 

न्यायालयमा हुने थप क्षति नियन्त्रणका लागि प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने उनको जोड रहेको छ । उनले न्यायालयमा अहिलेको जस्तो बदनाम यसअघि कहिल्यै नभएको प्रधानन्यायाधीशले न्यायालयमा गुटबन्दी गर्ने, स्वार्थका मुद्दा आफैले हेर्नेलगायत काम गरेको उनले आरोप लगाए ।

संविधानविद् आचार्यले भने ‘यति ठूलो विकृति, यति ठूलो भ्रष्टाचार, अनियमितता नेपालको न्यायालयमा योभन्दा पहिले कहिल्यै पनि भएको थिएन । न्यायालयलाई गुटबन्दीमा प्रश्रय दिने काम गरियो । आ–आफ्नो स्वार्थको मुद्दा उहाँले अमुक इजलासमा तोक्न थाल्नुभयो, आफूले हेर्न थाल्नु भयो । आफ्नो गुटलाई संरक्षण गर्ने, त्यही खालका मुद्दाहरू उहाँले तोक्ने, बाँकीलाई अपहेलना गर्ने गर्न थाल्नुभयो ।’

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई ठिक ढङ्गले सञ्चालन गर्न नसकेको बताए । प्रधानन्यायाधीशले वरिष्ठ न्यायाधीशलाई बाइपास गर्ने, पेसी व्यवस्थापनमा गडबड गर्नेलगायत काम गरेको आरोपसमेत लगाए । 

छलफलमा मानवअधिकारकर्मी मोहना अन्सारी, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. महेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल  लगायतकाले आ–आफ्नो धारणा राखेका थिए ।  

प्रतिक्रिया दिनुहोस्