नयाँ कीर्तिमान सहित नासिर विश्व च्याम्पियनसिपमा छनौट


काठमाडौँ, ९ कार्तिक । नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमान सहित अवुधावीमा आयोजना हुने १५ औँ फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनौट हुन सफल भएका छन् ।

नेपाल पौडी सङ्घले आइतबार सातदोवाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनौट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अङ्कका साथ विश्व च्याम्पियनसिपका लागि छनौट भएका हुन् । यस अघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेण्डर गादेगाद शाहको नाममा २ मिनट ००.०४ सेकेन्डको कीर्तिमान रहेको थियो । शाहले उक्त कीर्तिमान २ वर्ष अघि काठमाण्डौमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए ।

दुई पुरुष र दुई महिलाको लागि भएको छनौट प्रतियोगितामा ओलम्पियन शाह पनि छनौट भएका छन् । नेपाल पौडी सङ्घले जापानमा आयोजना भएको ओलम्पिकमा सहभागी भएका दुई खेलाडी एलेक्जेण्डर शाह र गौरिकलाई उनीहरू उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेकोले उनीहरूको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाइरहेको र फिना अङ्कको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई विश्व च्याम्पियनसिपमा छनौट गर्ने निर्णय गरेकोमा शाहले उक्त मापदण्डलाई पुरा गरेका कारण छनौट हुन सफल भएको तर गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा रहेका कारणले सहभागी हुन नसकेको नेपाल पौडी सङ्घले जनाएको छ ।

दुई महिला तर्फ अनुशिया तण्डुकार र उपास्ती महर्जनले विश्व च्याम्पियनसिपको लागि छनौट हुने सौभाग्य प्राप्त गरेका छन् । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेण्ड समयका साथ ५१७ फिना अङ्क तथा उपास्तीले ५० मिटर ब्रेष्टस्ट्रोकमा ३६.२६ सेकेण्ड समयका साथ ४८९ फिना अङ्कका साथ छनौट हुन सफल भएका हुन् ।

सोही छनौटका क्रममै भएको पुरुष १०० मिटर बटरप्mलाईमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे । उनले उक्त दूरी ५९.१० सेकेन्डमा पुरा गरेका थिए । यस अघि उक्त दूरीको कीर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनट ००.२५ सेकेन्डको रहेको थियो । शाहले उक्त कीर्तिमान नेपालगन्जमा आयोजना भएको ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्