नेकपा एमाले बेलबारीको नयाँ कमिटीको टुङ्गो लागेन : प्रथम अधिवेशन


नगर कमिटी अध्यक्षका लागि तीन जनाको उमेद्वारी

बेलबारी, ९ कार्तिक । समय अपुग भएको भन्दै नेकपा एमाले बेलबारीको नगर अधिवेशन बुधबार सम्मका लागि स्थगित भएको छ । निर्धारित समयमा कार्यक्रम सुरु गर्न नसक्दा समय नपुगेको भन्दै नगर अधिवेशन बुधबारसम्माका लागि स्थगन गरिएको निर्वाचन मण्डलले बताइएको छ ।

निर्वाचन मण्डलका संयोजक एवम् नेकपा एमालेका जिल्ला कमिटी सदस्य घनश्याम गौतमले निर्धारित समयमा कार्यक्रम सुरु गर्न नसक्दा समय केही अपुग भएकोले स्थगित गरेर अधिवेशन भोलि ११ बजेका लागि पुन ः डाकिएको बताएका छन् ।

मङ्गलवार बेलबारीमा १ मा रहेको मदन –मनमोहन, पुष्परत्न स्मृति सांस्कृतिक भवनको सभा हलमा अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व मन्त्री भानुभक्त ढकालले गरेका थिए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् संविधानसभा सदस्य मधु गुरुङ, प्रदेश कमिटी सदस्य एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रदेश कमिटी सदस्यहरू नन्दराज गिरी, प्रताप थापा, प्रकाश राई, बल्लभ कार्की, राजकुमार बस्नेत, अञ्जना अधिकारी, युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष रविन थापा, प्रदेश तथा जिल्ला कमिटीका सदस्यहरूको सहभागिता रहेको थियो ।                                         

नगर अधिवेशनका लागि ११ वटा वडाबाट ६८७ र नगर आयोजक समितिका ३३१ गरी जम्मा १०१८ को प्रतिनिधित्व रहेको थियो ।                                                                          

कार्यक्रममा बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष रविन थापा, प्रदेश कमिटी सदस्यहरू अञ्जना अधिकारी, प्रताप थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लामो समयसम्म पार्टीमा योगदान दिएका विभिन्न २४ जना महानुभावहरूलाई सम्मान गरिएको थियो । साथै आजै नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका पार्टी छाडेर विभिन्न ६ जना व्यक्तिहरू एमालेमा प्रवेश गरेका थिए । 

नगर कमिटीमा तीन जनाको उमेद्वारी

नेकपा एमाले बेलबारी नगर कमिटीको अध्यक्षका लागि तीन जनाको उमेद्वारी परेको छ । अध्यक्ष पदमा उमेद्वारी दिनेहरूमा वर्तमान नगर अधिवेशन आयोजक कमिटी संयोजक ईरान राई, सचिवालय सदस्य मीलन राई र बेलबारी ८ का प्रभाग खवास रहेका छन् । 

उपाध्यक्षमा पिवि थापा मगर र कृष्णबहादुर गुरुङको उमेद्वारी परेको छ । सचिवमा सबैभन्दा बढी ४ जनाको उमेद्वारी परेको छ । जसमा हेमशागर ढकाल, अजीत अधिकारी, गजेन्द्र राज लिम्बू, र शङ्कर गुरुङ रहेका छन् । उपसचिव खुल्लामा उदयबहादुर राई र रमेश निरौलाको उमेद्वारी परेको छ भने र उपसचिव महिलामा सुनिता चौधरीको मात्र मात्र उमेद्वारी परेको निर्वाचन मण्डलले जनाएको छ । 

सकेसम्म सर्वसम्मत रूपमै नेतृत्व चयन गर्ने नभए लोकतान्त्रिक विधिबाटै भए पनि नेतृत्व चयन गरिने निर्वाचन मण्डलका संयोजक एवम् नेकपा एमालेका जिल्ला कमिटी सदस्य घनश्याम गौतम बताउँछन् ।

यस अघि नगर कमिटी अध्यक्षमा भने ईरान राई, रविन थापा, कृष्ण गुरुङ, मीलन गुरुङ र शङ्कर गुरुङको चर्चा चले पनि अन्त्यमा तीन जनाको मात्र उमेद्वारी परेको देखिएको छ । 

अधिवेशन सुरु हुँदै गर्दा नगरको नेतृत्व अब युवा पुस्तामा जानु पर्ने, एक व्यक्ति एक जिम्मेवारी हुनु पर्ने जस्ता चर्चा चलिरहेका सुनिन्थे । चर्चाकै बिचमा यसपालिको नेतृत्व युवा पुस्ताबाट कृष्ण गुरुङले लिनु पर्ने चर्चा चले पनि कृष्ण गुरुङको भने उपाध्यक्ष पदका लागि मात्र उम्मेदवारी परेको पाइएको छ । 

समय नपुगेर अधिवेशन स्थगन गरिएको भनिए पनि आकाङ्क्षी बढी देखिएकोले तिनीहरूलाई मिलाएर सर्वसम्मत नेतृत्व चयन गर्नका लागि बुधबारसम्मका लागि अधिवेशन स्थगन गर्नु परेको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्