मुख्यमन्त्री शाक्यले राजीनामा दिने


हेटौँडा, १० कार्तिक । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । विश्वासको मत प्राप्त नहुने देखे पछि मुख्यमन्त्री शाक्यले राजीनामा दिन लागेकी हुन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने दिन राजीनामा घोषणा गर्न लागेको बताइएको छ ।

नेकपा एमालेका प्रदेशसभा सदस्य अरुण नेपालले मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने जानकारी दिए । प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ।

विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छ । पाण्डेलाई नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका दलको समर्थन रहेको छ । विपक्षी गठबन्धनसँग यतिखेर नेकपा माओवादी केन्द्रबाट २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी)का १३ र जसपाको एक सांसद गरी ५९ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्