उच्चस्तरीय छानबिन समितिको बिपीका पदाधिकारीलाई ७२ घण्टे स्पष्टीकरण


धरान, १० कार्तिक । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई ७२  घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिले उक्त निर्देशन दिएको हो । 

यससँगै सरकारले बिपीका विवादित पदाधिकारी हटाउन तयारी थालेको बुझिएको छ । उच्चस्तरीय छानबिन समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डाक्टर गुरु खनाल र निर्देशक डाक्टर गौरीशङ्कर शाहलाई छुट्टाछुट्टै भेटेर ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । विभिन्न विवाद र आरोपमा मुछिएका बिपी प्रतिष्ठानका पदाधिकारीहरूलाई कारबाही गर्न गठित स्वास्थ्य मन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले मङ्गलवार देखी छानबिन सुरु गरेको हो । 

स्वास्थ्य मन्त्री खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका प्रवक्ता डा.रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका मेयर तिलक राई छन् ।

उता प्रतिष्ठानका रजिस्ट्रार पदबाट प्रा.डा.मोहनचन्द्र रेग्मीले यस अघि नै राजीनामा दिइसकेका छन् । उच्चस्तरीय छानबिन समितिले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २१ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

प्रतिक्रिया दिनुहोस्