सहमति कायम हुन नसकेको भन्दै नेकपा एमाले बेलबारीको नगर अधिवेशन पुन: स्थगित


बेलबारी, १० कार्तिक । सहमति कायम गर्न समय अपुग भएको भन्दै बुधवार ११ बजेलाई सारिएको नेकपा एमाले बेलबारीको नगर अधिवेशन सहमति जुट्न नसके पछि पुन : एक दिनलाई पर सरेको छ । नेकपा एमाले बेलबारी नगर कमिटीको उपाध्यक्ष र उपसचिव महिलामा सर्वसम्मत नेतृत्व चयन भए पनि अरू पदमा भने दोस्रो दिन पनि सहमति जुट्न सकेन । 

मङ्गलवार नेकपा एमालेका पोलिटव्युरो सदस्य भानुभक्त ढकालले उद्घाटन गरेको अधिवेशनको बन्द सत्रमा समय नपुगेको भन्दै आज (बुधवार) ११ बजेका लागि अधिवेशन डाकिएको थियो । तर बुधवार उपाध्यक्षमाबाहेक अरू पदमा सहमति जुट्न नसके पछि पुन : भोलि ८ बजे बस्ने गरी अधिवेशन स्थागन गरिएको निर्वाचन समितिले जनाएको छ । 

उपाध्यक्ष र उपसचिव महिलामा सर्वसम्मत

नेकपा एमाले बेलबारी नगर कमिटीको उपाध्यक्षमा कृष्ण गुरुङ सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । पिवि थापा मगरले दिएको उमेद्वारी फिर्ता लिए पछि कृष्णबहादुर गुरुङ सर्वसम्मत रूपमा उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उता उपसचिव महिलामा भने सुरुमै एक जनाको मात्र उमेद्वारी परेको सुनिता चौधरी निर्विरोध रूपमा निर्वाचित भइसकेकी थिइन् । 

नगर कमिटीको महत्त्वपूर्ण पद मानिने अध्यक्षका लागि भने सुरुमा तीन जनाको उमेद्वारी परेकोमा वडा नं ८ का प्रभाग खवासले फिर्ता लिए पनि इरान राई र मिलन राईको उमेद्वारी कायमै रहेको छ । यी दुई जनाबिच सहमति कायम गर्ने प्रयास भइरहेको श्रोतले बताएको छ ।

सचिवमा सबैभन्दा बढी ४ जनाको उमेद्वारी परेकामा हेमशागर ढकाल र गजेन्द्र लिम्बूले आफ्नो उमेद्वारी फिर्ता लिएका छन् । अजीत अधिकारी र शङ्कर गुरुङका बिचमा सहमति जुटाउने प्रयास भइरहेको छ । उता उपसचिव खुल्लामा उदयबहादुर राई र रमेश निरौलाको उमेद्वारी यथावत रहेको छ ।

सकेसम्म सर्वसम्मत रूपमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको, यदि त्यो सम्भव नभएमा लोकतान्त्रिक विधिबाटै भए पनि नेतृत्व चयन गरिने निर्वाचन मण्डलका संयोजक एवम् नेकपा एमालेका जिल्ला कमिटी सदस्य घनश्याम गौतम बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्