पछि नहट्ने मीलन राईको शंकेत : एमाले बेलबारी नगर कमिटीमा जुट्ला त सहमति ?


बेलबारी, ११ कार्तिक । नेकपा एमाले बेलबारी नगर कमिटीको प्रथम अधिवेशनद्वारा जसरी पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहँदा अझैँ सहमति जुट्न सकेको छैन । अध्यक्षमा ईरान राई र मिलन राईको उम्मेदवारी रहेको छ । अध्यक्षको उमेद्वारी दिएका मीलन राईले सहमतिको नाममा आफ्नो उमेद्वारी फिर्ता नहुने बताएका छन् ।

सहमति गर्न समय नपुगेको भन्दै दोस्रो दिन पनि अधिवेशन स्थगन भए पछि उनले सामाजिक सञ्जालमा उल्टो प्रवृत्तिको विरुद्ध आफ्नो दाबी रहेको बताएका छन् । सचिवालय सदस्यसमेत रहेका राई आफ्नो कसैसँग व्यक्तिगत विरोध नभएर प्रवृत्ति वा प्रथाको विरुद्ध रहेको र यो प्रथा रहेसम्म आफू लडिरहेने बताएका छन् । 

मिलन साबिकको कसेनी हुँदा नेकपा एमालेको सचिव हुँदै अध्यक्ष सम्म भएका व्यक्ति हुन् । उनी कसेनी र बेलबरी मिले पछि नेकपा एमाले बेलबारी नगरको पार्टी उपाध्यक्ष भए । उनी हाल नेकपा एमाले बेलबारीका सचिवालय सदस्यसमेत हुन् । 

मङ्गलवार नेकपा एमालेका पोलिटव्युरो सदस्य भानुभक्त ढकालले उद्घाटन गरेको अधिवेशनको बन्द सत्रमा समय नपुगेको भन्दै बुधवार ११ बजेका लागि अधिवेशन डाकिएको थियो । सहमति कायम गर्न समय अपुग भएको भन्दै बुधवार ११ बजेलाई सारिएको नेकपा एमाले बेलबारीको नगर अधिवेशन सहमति जुट्न नसके पछि पुन : एक दिनलाई पर सरेको छ । आज बिहीवार बिहान ८ बजेसम्मका लागि अधिवेशन स्थगन गरिएको निर्वाचन मण्डलका अध्यक्ष एवम् वडा नं २ का अध्यक्ष घनश्याम गौतमले जानकारी दिएका छन् । 

उता नेकपा एमाले बेलबारी नगर कमिटीको उपाध्यक्षमा कृष्ण गुरुङ सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । उपसचिव महिलामा पनि सुनिता चौधरीको मात्र उमेद्वारी परेको थियो । सचिवमा अजीत अधिकारी र शङ्कर गुरुङ र उप सचिवमा उदयबहादुर राई र रमेश निरौलाबिचमा सहमति जुटाउने प्रयास भइरहेको छ । 

सचिवमा शङ्कर गुरुङ र उपसचिवमा रमेश निरौला आउने पक्काजस्तै छ । सुरुमा नेकपा एकीकृतमा खुलेर पछि सहमतिमै एमालेमा समेटिएका कारणले शङ्कर गुरुङलाई समेट्नु एमालेका लागि बाध्यकारी जस्तै देखिएको छ । त्यस्तै उपसचिवका उमेद्वार उदयबहादुर राईले आफू निर्वाचनमा नजाने बताइकाले उपसचिवमा रमेश निरौला आउने पक्का जस्तै देखिएको छ । 

अरूभन्दा पनि अध्यक्ष पदमा सहमति जुट्न सकस देखिएको छ । अधिवेशन आयोजक कमिटीका संयोजक ईरान राई सचिवालय सदस्य मीलन राई बिच सहमति कायम गर्ने प्रयास भइरहेको भए पनि सहमति जुट्न नसकिरहेको बताइएको छ ।

माथिल्लो नेतृत्व भने ईरान राईलाई अध्यक्ष बनाउन लागिपरेको निर्वाचन मण्डका संयोजक घनश्याम गौतमले हिजो कोसी नेपाललाई दिएको प्रतिक्रियाले प्रस्ट पार्छ । तर पार्टीको युवा सर्कलमा भने मिलन राईको राम्रो पकड रहेको बताइन्छ । आफू सहमतिकै पक्षमा रहेको, तर निर्वाचनमा जाने, बेलबारीका ८ वटा वडाहरूको आफूलाई समर्थन हुने मीलन राईको दाबी रहेको छ । 

सकेसम्म सर्वसम्मत रूपमै नेतृत्व चयन गर्ने प्रयास भइरहेको, माथिल्लो कमिटीको पनि भरसक निर्वाचनमा नगई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नु पर्ने आशयले गर्दा सहमति काय गर्ने प्रयास भइरहेको यदि त्यो सम्भव नभएमा लोकतान्त्रिक विधिबाटै भए पनि नेतृत्व चयन गरिने निर्वाचन मण्डलका संयोजक एवम् नेकपा एमालेका जिल्ला कमिटी सदस्य घनश्याम गौतमले बताएका छन् । उनले आज सहमति जुट्ने आसा गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्