गोल्डकपले गर्दा बेहुलीजस्तै सिङारिएको छ लक्ष्मीमार्ग : बेलबारी गोल्ड कप २०७८ को उद्घाटन आज


बेलबारी, ११ कार्तिक । आज (बिहीवार) चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपको उद्घाटन हुँदै छ । प्रत्रियोगितामा भाग लिने पाहुना टिमका खेलाडी लक्ष्मीमार्ग आइसकेका छन् । ३ बजे औपचारिक उद्घाटन हुन गोल्डकपले गर्दा बेलबारी नगरपालिका वडा नं ११ लक्ष्मीमार्ग बेहुलीजस्तै सिङारिएको हो । 

खेलकुदको माध्यमबाट आफ्नो स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभिप्रायका साथ बेलबारीमा सञ्चालन हुन गइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को तयारीको काम सकेर प्रतियोगिता उद्घाटनको पर्खाइमा रहेको आयोजक संस्थाका अध्यक्ष विक्रम राईले बताएका छन् ।                                           

प्रतियोगितालाई सभ्य र भव्य बनाउनका लागि आर्थिक, सल्लाहकार, खेल उपसमिति, कार्यक्रम निर्माण, स्वयंसेवक परिचालन, घेरावारा तथा मञ्च व्यवस्थापन लगायतका उपसमितिहरूको गठन भएका छन् ।     

बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा मोरङ, धनकुटा, उदयपुर, झापा र रोयल फुटबल क्लब सिलिगुडीका गरी विभिन्न ८ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगितामा एपिएफ काठमाडौँ, हिमालयन शेर्पा र च्यासल काठमाडौँ लगायतका ए डिभिजन क्लबहरूको सहभागिता रहने छ । 

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गर्ने प्रतियोगिता कार्तिक १७ गतेसम्म चल्ने छ । प्रतियोगितामा विजेता टिमले ५ लाख  र उपविजेताले २ लाख ५० हजार शिल्ड तथा प्रमाण पत्र पाउने छन् । प्रत्येक खेलका म्यान अफ म्याचलाई जनही ५ हजार ५ उपलब्ध गराइने पनि आयोजक समिति डाँगीहाट यूथ क्लबका सचिव सुभाष बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्