एमाले मोरङका ९ वटा पालिकामा नेतृत्व चयनमा ढिलाइ


बेलबारीमा आज चौथो दिन पनि सहमतिको प्रयास जारी

बेलबारी, १२ कार्तिक । नेकपा एमालेले मोरङका ८ वटा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भए पनि बाँकी ९ वटा पालिकामा भने नेतृत्व चयन गर्न सकेको छैन । आकाङ्क्षी बढी देखिए पछि पार्टीलाई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न कठिन भइरहेको हो । कतिपय पालिकामा सहमतिका लागि भनेर अधिवेशन स्थगित गरिएको छ भने कतिपय पालिकामा अधिवेशन नै सुरु हुन सकेको छैन ।

हालसम्ममा विराटनगर महानगरपालिकासहित, रतुवामाई, मिक्लाजुङ, केराबारी र  पथरीशनिश्चरे, सुन्दररहैँचा, रङेली, नगरपालिका तथा कटहरी, ग्रामथान, गाउँपालिकामा भने अधिवेशनबाट नयाँ नेतृत्व चयन भइसकेको भए पनि बुढीगंगा, कानेपोखरी र बेलबारी लगायतका स्थानीय पालिकामा सर्वसम्मतको पहल गर्ने भन्दै अधिवेशन नै स्थगित गरिएको छ । 

नेकपा एमाले मोरङले दिएको जानकारी अनुसार सुरु भएका पालिकाहरू बुढीगंगा, कानेपोखरी र बेलबारीमा सर्वसम्मतको पहल गर्ने भन्दै अधिवेशन नै स्थगित गरिएको छ । यो समाचार तयार पार्दासम्म नेतृत्वको आकाङ्क्षी धेरै भएका कारण समिति निर्माण हुन सकेको छैन ।

बेलबारीमा आज चौथो दिन पनि सहमतिको प्रयास जारी

यता नेकपा एमाले बेलबारी नगर कमिटीको बिहिवार तेस्रो दिनको सहमतिको प्रयास पनि सफल हुन सकेन । जसरी पनि सहमतिमै नेतृत्व चयन गर्ने प्रयास भइरहँदा सहमति जुट्न नसक्दा तेस्रो दिन पनि कमिटी चयन हुन नसकेको बताइएको छ । 

अरू पदमा प्राय सहमति भए पनि अध्यक्ष पदमा सहमति जुट्न नसक्दा बिहिवार तेस्रो दिन पनि शुक्रवार ८ बजेका लागि पुन : अधिवेशन बस्ने गरी स्थगन भएको थियो । यो समाचार तयार पार्दा सम्म पनि सहमति जुट्न सकेको थिएन । अध्यक्षमा नगर अधिवेशन आयोजक कमिटीका संयोजक ईरान राई र सचिवालय सदस्य मिलन राईको उम्मेदवारी परेको छ । बिहीवार सहमति जुटे आसा गरिएको भए पनि मिलन राईले उमेद्वारी फिर्ता लिन नमाने पछि सहमति जुट्न सकेन ।

बाँकी स्थानीय पालिकाका सहमति मै कमिटी चयन भइसेका छन् । यसरी सहमतिका नाममा अधिवेशनलाई अनिर्णयको बन्दी बनाएकोमा प्रतिनिधिहरूले अक्रोस् पोख्न थालेका छन् ।

नेकपा एमाले वडा नं ६ का वडा कमिटी अध्यक्ष पुष्कर शर्मा जमरकट्टेल सहमतिबाट नेतृत्व चयन हुनु निश्चय पनि लोकतन्त्रको उच्चतम रूप भए पनि सहमतिका नाममा लामो समय बन्धक बनाइनु पार्टीले अवलम्बन गरेको जनवादी केन्द्रीयता, बहुदलीय जनवाद र लोकतान्त्रिक पद्धति माथिको भद्दा मजाक भएको बताउँदै पार्टी पद्धतिले छानिएर आएका प्रतिनिधिको चुन्ने र चुनिने अधिकारलाई प्रयोग गर्न पाउनु पर्ने बताएका छन् । 

उता निर्वाचन मण्डलका अध्यक्ष एवम् वडा नं २ का अध्यक्ष घनश्याम गौतमले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने पार्टीको मर्मअनुसार काम भइरहेको, यतिका दिन भइरहेको प्रयासको देखिनेगरिको परिणाम बाहिर आउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्