प्रधानमन्त्री देउवा आज बेलायत जाँदै


काठमाडौँ, १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै छन् । आउँदो नोभेम्बर १–२ मा स्कटल्यान्डको ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको शिखर सम्मेलनमा भाग लिन आज बेलायत प्रस्थान गर्न लागेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री देउवाको साथमा वन तथा वातावरण मन्त्री रामसहाय यादवसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन् । प्रधानमन्त्री देउवाले कात्तिक १५ मा कोप २६ को उद्घाटनमा सहभागी हुने र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, प्रधानमन्त्री देउवा राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय साइडलाइन वार्तामा पनि सहभागी हुने छन् ।

त्यसअघि, अक्टोबर ३० (कार्तिक १३) मा प्रधानमन्त्री देउवा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल (एपीपीजी–एन) र यूके–नेपाल ट्रेड एन्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गरेको स्वागत कार्यक्रममा उपस्थित भई सम्बोधन गर्नेछन् ।बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले बेलायत–नेपाल समाज, गैर आवासीय नेपाली सङ्घ र युकेमा रहेका नेपालीहरूसँग भेटघाट गर्नेछन् ।

देउवा अक्टोबर ३१ (कार्तिक १४)मा लन्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्। यस्तै, गोर्खा भेटेरान्स सङ्गठनका सदस्यहरू, बेलायती सांसदहरू र नेपाली डायस्पोराका अरू सदस्यहरूसँग भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ (कार्तिक १५)को साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्र र सरकार प्रमुखहरूको स्वागतामा आयोजना गर्ने कार्यक्रममा उपस्थित हुनेछन्। नोभेम्बर २ मा बेलायती प्रधानमन्त्री जोन्सन र स्कटल्यान्डका फस्ट मिनिस्टरले आयोजना गर्ने ‘ब्रेकफास्ट रिसेप्सन’मा सहभागी हुनेछन् ।

नोभेम्बर ३ (कार्तिक १७) मा प्रधानमन्त्री देउवाले रोयल बोटनिक गार्डेन भ्रमण गर्ने कार्यसूची छ। त्यहाँ उनले उपस्थितहरूलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री देउवाले नेपाली गार्डेनमा बिरुवा रोप्नेछन् । नेपाली प्रतिनिधिमण्डल नोभेम्बर ३ (कार्तिक १७) मा यूकेबाट फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्