महफिलले गजलमय बनेको सुन्दरहरैँचा : नाट्यकर्मी भरत गुरागाईँ सम्मानित


सुन्दरहरैँचा, १२ कार्तिक । सुन्दरहरैँचामा गजल महफिलको दोस्रो शृङ्खला सम्पन्न गरेको छ । महफिलको आयोजना सुन्दरहरैँचा साइकल राइडर्स ग्रुपले गरेको हो । सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य सामाजिक व्यक्तित्व सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई, सुन्दररहैँचा नगरपालिका उपप्रमुख धना तामाङ, स्रष्टा समाजका उपाध्यक्ष अमृतप्रसाद आचार्य (आचार्य अ), किशोर कोइराला, रोहिणी रसिक, मीनकुमार श्रेष्ठ नवोदित, तीला लेकाली, छवि वैरागी घिमिरे, लगायतका दर्जनौँ स्रष्टाहरूको उपस्थिति रहेको थियो । 

सुन्दरहरैँचा १० मा रहेको डा. डेभिड क्याफेमा आयोजित गजल महफिलमा मोरङे स्रष्टा छवि वैरागी घिमिरे, काठमाडौँका आँचलकुमार शर्मा र धनकुटे स्रष्टा ईश्वर दाहाल रहेका थिए । तीन जना गजलकारले तीन तीन चरणमा आ –आफ्ना गजल वाचन गरेका थिए ।

गजलकारले शास्त्रीय बहर तथा मुक्त बहरका गजलहरू वाचन गरेका थिए । राम्रो उपस्थिति रहेको उक्त कार्यक्रममा प्रतिनिधि रूपमा सहभागिताका गजलसमेत वाचन गरिएका थिए । 

सुन्दरहरैँचा साइकल राइडर्स ग्रुपका उपाध्यक्ष रामकृष्ण खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी केपी घिमिरेको रहेको थियो ।              

नाट्यकर्मी भरत गुरागाईँ सम्मानित 

सुन्दरहरैँचामा आयोजित गजल महफिलमा नाट्यकर्मी भरत गुरागाईँ सम्मानित भएका छन् । कला र साहित्यको क्षेत्रमा लामो समयदेखि क्रियाशील गुरागाईँलाई सुन्दरहरैँचा साइकल राइडर्स ग्रुपले शुक्रवार सम्मान गरेको हो । 

मोरङको झोराहाटमा वि.स. २०२४ सालमा जन्मिएर विगत ४ दशकदेखि निरन्तर रूपमा नेपाली भाषा साहित्य, कला र संस्कृति क्षेत्रमा क्रियाशील रहँदै आएका गुरागाईँ कार्यक्रमका प्रमुख अतिथि सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य सामाजिक व्यक्तित्व सुरेन्द्रबहादुर थापाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।  

उनका ‘रात र युद्ध’ र ‘खोज्दै जीवन’ दुई वटा कविता सङ्ग्रह, ‘पर्खाल’, ‘पासवर्ड’, ‘घरभित्र अर्को घर’ र ‘देश हराएको छ’ जस्ता नाटकहरू प्रकाशित छन् । पछिल्लो समय नाटकका क्षेत्रमा बढी समय खर्चँदै आएका गुरागाईँले पाँच हजारभन्दा बढी पटक नाटकमा अभिनय गरिसकेका छन् । उनले नेपाल बाहेक भारत र बङ्गलादेशमासमेत गएर नाटक मञ्चन गरेका छन् ।   

साहित्यलाई समाजको ऐना ठान्ने गुरागाईँ साहित्य समाज रूपान्तरणका लागि लेखिनु पर्छ भन्ने अभिव्यक्ति दिन्छन् । २६ वर्षसम्मको शिक्षण पेसालाई विश्राम दिएर उनी साहित्य कलाको जगेर्नामा होमिएका छन् । वि.स. २०६९ मा आफ्नै गाउँमा झोराहाट नाट्य समूह गठन गरेर कला सहित्यको जगेर्नामा उनी लागि रहेका छन् । झोराहाट नाट्य समूहले पछिल्लो समय १ नं प्रदेशको मा नभएर पुरै देशको ध्यान खिच्न सफल भएको छ । अर्थात गुरागाईँले यस संस्थाका मध्यमबाट केन्द्र र मोफसलबिचको दुरीलाई घटाइदिएका छन् । अर्थात सबै ठाउँ आफैमा केन्द्र हुन् भन्ने कुरालाई शिद्ध गरिदिएका छन् । 

नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठानले वितरण गर्ने युवा प्रतिभा पुरस्कार, राष्ट्रसेवक बहुमुखी सहकारीबाट वर्ष साहित्य पुरस्कार जस्ता निजी लगानीमा स्थापना भए पुरस्कारहरू पाए पनि सरकारी स्तरबाट पाउने पुरस्कारबाट भने उनी वञ्चित रहँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्