पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर रु ५० ले वृद्धि


काठमाडौँ, १३ कार्तिक । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य शुक्रवार रातिबाट लागु हुने गरी बढाएको हो । 

पेट्रोलको साबिकको बिक्री मूल्यमा तीन रुपैयाँले वृद्धि गरी एक सय ३३ रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर तीन रुपैयाँले नै बढेर एक सय १६ रुपैयाँ पुगेको छ ।यस पटक खाना पकाउने एलपी ग्यासको भने प्रतिसिलिन्डर ५० रुपैयाँले बढेको छ ।

नयाँ परिवर्तित मूल्य अनुसार अब खाना पकाउने ग्याँस प्रतिसिलिन्डर १५ सय रुपैयाँ पुगेको छ । आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर आठ सय ५३ प्रति किलो लिटर कायम गरिएको छ ।

निगमले आफूलाई प्रतिमहिना चार अर्ब घाटा बेहोर्नुपरेको भन्दै मूल्यवृद्धि गर्नुपरेको बताएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न आगामी दिनहरूमा पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यता हुनसक्ने पनि निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्