बेलबारी ७ मा ढाका कपडा बुनाई तालिम सम्पन्न : व्यवसाय गर्न प्रशिक्षार्थी तयार


बेलबारी, १४ कार्तिक । बेलबारी नगरपालिका वडा नं. ७ मा ढाका कपडा बुनाई तालिम सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा भएको ३० दिने ढाका कपडा बुनाई तालिमको शनिवार समापन भएको हो । 

समापन कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले तालिममा सहभागी प्रशिक्षार्थीहरूको कार्यको प्रशंसा गर्दै, थप दोस्रो तहको ढाका कपडा बुनाई तालिम गराउने बताएका छन् । कार्यक्रममा प्रशिक्षार्थीहरूले बनाएका ढाकाको कपडाको मखलर साथै सलद्वारा लगाइदिएर अतिथि सत्कार गरिएको थियो । 

स्वदेशमा मात्र नभएर विदेशीमा पनि ढाकाद्वारा निर्मित कपडाको माग राम्रो रहेको कारण प्रशिक्षार्थीहरूले तालिम लिए अनुसार कामलाई निरन्तरता दिएमा उत्पादन हुने समानको बजार व्यवस्थापनमा पनि नगरपालिकाले सहयोग गर्ने प्रमुख सुवेदीले बताएका छन् । सिप सिकौँ, स्वरोजगार बनौँ भन्ने उद्देश्यको साथ महिलाहरूलाई लक्षित बुनाई तालिममा २७ प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमका आयोजकद्वारा बेलबारी नगरपालिकाका उपप्रमुख ढाका कुमारी पराजुलीलाई प्रशिक्षार्थीले बनाएको ढाकाको सल बढाएर स्वागत तथा सत्कार गरेका थिए । प्रशिक्षार्थीहरूको प्रशंसा गर्दै महिलालाई स्वरोजगार बनाउन बेलबारी नगरपालिकाद्वारा कुनै कन्जुसाई नहुने उपप्रमुख पराजुलीले बताइन । 

कार्यक्रममा बेलबारी वडा नं. ६ का अध्यक्ष उदय बहादुर राईले सम्बोधन गर्दै स्थानीय क्षेत्रमा प्रशिक्षार्थीहरूले व्यावसायिक रूपमा तालिममा सिकेका कुरालाई व्यवहारिक रूपमा निरन्तरता दिन आग्रह गरेका छन् । ढाकाका कपडाबाट निर्मित समानलाई आफ्नो वडाले कार्यक्रम गर्दा अतिथि सत्कार तथा मायाको चिनो प्रदान गर्ने संस्कार बसाएर आफ्नै ठाउँमा उत्पादन भएको सामाग्रीको प्रयोग गरेर, सानो भए पनि स्थानीय बजारलाई व्यवस्थापनको लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । 

तालिम व्यवस्थापन सहयोगी संस्था पाथिभारा सीप विकास तालिम केन्द्र मोरङको संयोजक्तामा भएको समान समारोहमा कार्यक्रममा प्रशिक्षार्थीले आफ्नो अनुभवहरू बताउँदै बेलबारी नगरपालिकालाई धन्यवाद प्रदान गरेका थिए । प्रशिक्षार्थीहरूले थप दोस्रो तहको तालिमको माग गर्दै बजार व्यवस्थापन गर्न नगरपालिका तथा वडा कार्यालयले सहयोग गरे व्यावसायिक रूपमा अगाडी बढ्ने बताएका छन् । 

३० दिन सम्मा बेलबारी वडा नं. १ निवासी मधु राई धिमालले प्रशिक्षण प्रदान गरेका थिइन । २७ सहभागी सबै महिला प्रशिक्षार्थीले व्यावसायिक रूपमा अगाडी बढ्न सक्ने गरी तालिमद्वारा सक्षम भएको प्रशिक्षक मधुले बताएकी छिन । समापन कार्यक्रमको सञ्चालन लीलानाथ गच्छेदारले गरेका थिए । कार्यक्रम वडा नं. ७ का वडाध्यक्ष चेत बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रतिक्रिया दिनुहोस्