प्रदेश १ मा मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै


विराटनगर, १५ कार्तिक । आज (सोमबार) १ नं प्रदेशसभामा हुने मतदानले मुख्यमन्त्री भीम आचार्यको नेतृत्वमा रहेको सरकारको आयु निर्धारण गर्ने छ । प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकोले आचार्य नेतृत्वको सरकारको आयु निर्धारण गर्ने भएको हो । 

प्रदेशसभा सचिवालयले साढे १२ बजेलाई डाकिएको प्रदेशसभाको बैठकमा आचार्यले राखेको विश्वासको मतको मत विभाजन हुने कार्यसूची रहेको जनाएको छ । कार्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेको भए पनि काँग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका कारणले मतदान हुन सकेको थिएन । 

प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सोमबारको बैठकको विषयमा कार्यसूची तय भइसकेकाले कार्यव्यवस्था नबस्ने बरु सदनको कारबाही सुरु हुने बताएका छन् । यता विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतवार विराटनगरमा बसेको गठबन्धनको बैठकले आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ । राईलाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आदि पार्टीको समर्थन रहेको छ । 

९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ । अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद गरी विपक्षी गठबन्धनसँग ५० सांसद रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्