मुख्यमन्त्री आचार्यले राजीनामा दिएसँगै प्रदेश नं १ मा नयाँ सरकार निर्माण प्रक्रिया सुरु


विराटनगर, १५ कार्तिक । विश्वासको मत नपाउने देखे पछि प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । आज (सोमबार) प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेश–१ को मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

आज १ नं प्रदेशसभामा उनले विश्वासको मत लिने कार्यक्रम रहेको थियो । तर विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै उनले राजीनामा दिए । आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ ।

राईलाई नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आदि पार्टीको समर्थन रहेको छ । ९२ सदस्यीय प्रदेश १ को प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ ।

अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद गरी विपक्षी गठबन्धनसँग ५० सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्