राजविरले जिते राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को उपाधि


काठमाडौँ, १५ कार्तिक । राजविर मानन्धर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को ब्वाईज यु – १४ तर्फको उपाधि उचाल्न सफल भएका छन् । आइतबार भएको सेमिफाइनलमा मानन्धरले आयुष्मान् हजुर घलेलाई ६–०, ६–३ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम कोर्न सफल भएका हुन् ।

तर उनी युगल तर्फ भने सेमिफाइनलमा पराजित भएका छन् । युगल तर्फ प्रनभ महर्जनलाई जोडी बनाएर प्रतिस्पर्धामा उत्रेका उनी दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडीलाई वाक ओभर प्रदान गर्दै सेमिफाईनमानै यात्रा टुङ्ग्याउन बाध्य भए । गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस सङ्घको आयोजनामा भएको प्रतिस्पर्धाको ब्वाईज १२ तर्फ दर्शिल श्रेष्ठले उपाधि उचाले । उनले बोरिस अधिकारीलाई ७–५, ६–२ ले पराजित गर्न सफल भएका हुन् ।

यस्तै सोही उमेर समूहको छात्रा तर्फ समृद्धि महर्जनले जित हात पारिन् । महर्जनले फाईनलमा शिभाली गुरुङलाई ६–३, ७–५ ले पाखा लगाउँदै जितलाई आत्मसाथ गरेकी हुन् ।छात्र यु १० तर्फको प्रतिस्पर्धामा आशभ सम्राट हाडाले बाजी मारे । उनले फाईनलमा स्पन्दन उदासलाई ७–६, ६–३, ११–९ को कठिन जितका साथ उपाधि चुमे ।

सातदोवाटोस्थित टेनिस कोर्टमा भएको जुनियर तर्फको अन्य खेलमा छात्रा यु – १४ तर्फ सुनिरा थापा र आद्या पौडेल उपाधि निकट पुगेका छन् । सुनिराले जेनी खड्कालाई ६–४, ६–१ ले पराजित गर्दै उपाधिका लागि पौडेल सँगको भेट पक्का गरेकी हुन् । पौडेलले प्रशंसा मोक्तानलाई ६–३, ६–३ को सेटमा पराजित गरिन् । यस्तै छात्र तर्फ यु – १४ तर्फ आयुष्मान् हजुर घले र सक्षम श्रेष्ठको जोडी तथा दर्शिल श्रेष्ठ र श्रीजन भट्टराईको जोडी फाइनल प्रवेश गरेका छन् । घले र श्रेष्ठको जोडीले श्लोक खड्का र श्रीयोग आचार्यको जोडीलाई ६–१, ६–१ को सेटमा तथा दर्शिल र श्रीजनको जोडी राजवीर मानन्धर र प्रनभ महर्जनको जोडीबाट वाक ओभर प्राप्त गर्दै फाइनल प्रवेश गरेका हुन् ।

यस्तै यसै उमेर समूहको छात्रा युगल तर्फ आध्या पौडेल र समृद्धि महर्जनको जोडीले फाईनलमा स्थान बनायो । पौडेल र महर्जनको जोडीले मालाश्री श्रेष्ठ र कृषाको जोडीलाई ६–२, ६–२को समान अन्तरले पराजित गरेका हुन् । यसैगरि सुनिरा थापा र प्रशंसा महर्जनको जोडीले पनि फाइनल यात्रा तय गरे । थापा र महर्जनको जोडीले जेन्नी खड्का र कर्मिष्ठा एन. एसको जोडीलाई ६–२, ६–२ सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।सिनियर तर्फको प्रतिस्पर्धामा पुरुष युगल तर्फ निहाल जङ्ग बहादुर थापा र अकी राउतको जोडी तथा प्रदीप खड्का र अनिल शाहीको जोडी फाइनल प्रवेश गरेका छन् ।

थापा र राउतको जोडीले प्रनभ खनाल र जितेन्द्रको  जोडीलाई ६–४, ६–३ ले तथा खड्का र शाहीको जोडीले ऋतीक राणा र नवीन पाईजाको जोडीलाइ २–६र्, ६–१, ११–९ को कठिन जितका साथ उपाधि भिडन्त पक्का गरेका हुन् । यस्तै महिला युगल तर्फ प्रेरणा कोईरालाल र सलोनी तामाङ्गको जोडी तथा अभिलाषा विष्ट र ईरा एम. राउतको जोडी उपाधि निकट पुगेका छन् । प्रेरणा र सलोनीको जोडीले रयना शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–२, ६–१ ले तथा अभिलाषा र ईराको जोडीले अज्जा रेग्मी र ईभा अधिकारीको जोडीलाई ६–०, ६–१ ले पराजित गरे ।पुरुष ३५ वर्ष माथिको एकल स्पर्धामा कमल बहादुर भण्डारी र सीमान्त गुरुङ फाइनल प्रवेश गरेका छन् । भण्डारीले भीष्म जङ्ग गुरुङलाई ६–२, ६–२ ले पराजित गर्दै फाईनलमा सीमान्त सँगको भेट पक्का गरेका हुन् । सी

मान्तले सुभाष बस्नेतलाई ६–०, ६–१ ले पन्छाए ।पुरुष ४५ वर्ष माथिको स्पर्धामा सिजर गुरुङ र विमल कुमार गुरुङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । सिजरले रोहित सुनुवारलाई ६–३, ६–१ ले तथा विमलले सुकमान तामाङलाई ६–३, ६–४ ले पराजित गरे ।पुरुष ५५ वर्ष माथिको स्पर्धामा कमल थापाले सागर केसीलाई ६–०, ६–० ले पराजित गर्दै उपाधिका लागि विमल कुमार गुरुङ सँगको भेट पक्का गरेका हुन् ।

विमलले ध्रुव गुरुङबाट रिटायर्ड हर्टको आधारमा जित निकाले । २–० को अवस्थामा ध्रुव रिटायर्ड हर्ट भएका थिए ।पुरुष ३५ वर्ष माथिको युगल तर्फ नीरज थापा र लोक गुरुङको जोडी क्वाटर फाइनल प्रवेश गरेको छ । नीरज र लोकको जोडीले निलम लामा र श्याम जिसीको जोडीलाई ६–७, ६–३, ११–९ ले पराजित गरे । 

प्रतिक्रिया दिनुहोस्