हिमालयन शेर्पा बेलबारी गोल्ड कपको फाइनलमा प्रवेश


बेलबारी, १५ कार्तिक । हिमालयन शेर्पा क्लब काठमाडौँ बेलबारीमा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको रोलिङ क्लब धुलाबारीलाई ३–१ गोलले हराउँदै हिमालयन शेर्पा गोल्ड कपको फाइनलमा प्रवेश गरेको हो ।

खेलको १६ ओं मिनेटमा हिमालयन शेर्पाका लागि विदेशी खेलाडी पिस्टन मुतुम्वाले पहिलो गोल गरेका थिए । हिमालयनका कप्तान विश्वास श्रेष्ठले पोस्टमा प्रहार गरेको बल रोलिङ क्लबका गोल रक्षक मनोज प्रधानले उत्कृष्ट बचाउ गर्दै सानो डिबक्समा पञ्च गरेका थिए ।

उक्त बललाई सोझै गोल पोस्टमा पुगेको थियो । सुरु देखि नै दबाबमा राखेको हिमालयन शेर्पाले मध्यान्तर पछि रोलिङलाई झनै दबाबमा राख्यो । रक्षात्मक देखिएको रोलिङ क्लबविरुद्ध हिमालयनका विश्वास श्रेष्ठले खेलको ५० ओं मिनेटमा थप १ गोल गरे । जापानी खेलाडी रियो नाकामुराले प्रहार गरेको बल रिवाउन्स भएर मैदानमा झर्न नपाउँदै विश्वास श्रेष्ठले बललाई पोस्टतिर फर्काइदिएका थिए ।

दोस्रो गोल भएको लगत्तै २ मिनेट पछि हिमालयन शेर्पाका विसोन गुरुङले १ गोल गर्दै  टिमलाई ३–० को अग्रता दिलाए ।खेलको ५७ ओं मिनेटमा रोलिङ क्लब झापाका लागि ड्याडी वाम्बाले टिमका लागि सान्त्वना गोल गरे त थप गोल गर्न नसक्दा एक गोलमै चित्त बुझाउनु परेको थियो । 

आजको खेलमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले म्यान अफ द म्याचको उपाधिसँगै नगद ५ हजार ५ सय रुपियाँ प्राप्त गरे । उनलाई कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले म्यान अफ द म्याचको उपाधि प्रदान गरेका थिए । 

मङ्गलवार दोस्रो सेमिफाइनल खेल राजारानी(रारा) फुटबल क्लब धनकुटा र सशस्त्र प्रहरीको एपीएफ क्लबबिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्