बेलबारी ३ मा सदाबहार कृषि मार्ट सुरु


बेलबारी, १७ कार्तिक । बेलबारी नगरपालिका वडा नं. ३ मा कृषि मार्ट सुरु भएको छ । वडा नं. ३ स्थित मालपोत टोलमा सदाबहार कृषि मार्ट सुरु भएको हो ।

एक वर्ष देखी परीक्षण अवधि राखी सुरु गरेको सदाबहार कृषि मार्टको औपचारिक उद्घाटन भने मंगलबार, बेलबारी नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदीले गरेका थिए । स्थानीय ग्राहकका अनुसार वडा नं. ३ मा व्यवस्थित रूपमा कृषि मार्टको रूपमा सदाबहार पहिलो हो । 

अध्यक्ष सुवेदीले मार्टको अवलोकन गरेर, कृषि क्षेत्रको विकासको लागि सदाबहार जस्तो कृषि मार्ट बेलबारीमा अनिवार्य हुने पर्ने बताए । सदाबहार जस्तो व्यवस्थित कृषि मार्टको कारण स्थानीय उत्पादनले पनि राम्रो बजार पाउने सुवेदीले आशा व्यक्त गरेका छन् । नगरपालिकाले नै कृषिलाई प्राथमिकतामा राखेको कारण स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्न सदाबहारका सञ्चालक सुवास राईलाई आग्रह गर्दै, वडा कार्यालयले आवश्यक परे सहयोग गर्ने बताएका छन् ।

सदाबहारले स्थानीय उत्पादनलाई नै प्राथमिकतामा राखेको सञ्चालक सुवासले बताएका छन् । सुवासका अनुसार तरकारी तथा फलफूलको स्टोरको लागि आधुनिक विधि महँगो हुने हुँदा सदाबहारमा परम्परागत विधि प्रयोग गरिएको छ । स्टोर भवन सिमेन्टद्वारा निर्मित भए पनि कोठाको भित्री भागलाई माटोले लिपेर तयार गरिएको छ । छानो पनि खरले छाएको छ । जस कारण तरकारी तथा फलफूलको आयु केही लम्बिने सुवास बत्ताऊ छन् । कृषि मार्टमा तरकारी, फलफूलसँगै अन्य दैनिक उपभोग्य बस्तु राखिएको छ भने मादल तथा खुकुरीहरू पनि बिक्रीमा राखिएको छ । सुवास भन्छन्, कृषि क्षेत्रको सबै खाले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर सदाबहारको स्थापना गरेको हो । 

सुवास वैदेशिक रोजगारमा कोरिया करिब ५ वर्ष भन्दा बढी बसेर स्वदेश फर्केर कृषि क्षेत्रलाई प्रामाणिकतामा राखेर व्यवसाय गर्न सुरु गरेका हुन । कोरोनाको कहरमा उनले घर घर पुगेर तरकारी बिक्री गर्ने कार्य पनि गरेका थिए । सुवासले आफ्नो व्यवसाय मात्र सुरु गरेका छैनन्, कृषि क्षेत्रको विकासमा एउटा इटा थप्ने काम पनि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्