आज काग तिहार, कागको पूजा गरेर तिहार मनाइँदै


काठमाडौँ, १७ कार्तिक । आज तिहारको पहिलो दिन काग तिहार । आज बिहानै यमराजको दूतका रूपमा कागलाई मीठो मीठो खानेकुरा खान दिएर काग तिहार मनाइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले कार्तिक कृष्ण त्रयोदशीका दिन अर्थात आज काग तिहार भएको बताएको छ । 

विशेष गरेर कागलाई यमराजको दूतको रूपमा लिइन्छ । कागमार्फत यमराजले सन्देश पठाउँछन् भन्ने मान्यता रहिआएको छ । लोक व्यवहारमा पनि कागको विशेष महत्त्व रहेको पाइन्छ । काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको पाइन्छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको छ कि भन्ने विश्वास गर्ने गरिन्छ । 

तिहार पर्व विशेष गरेर दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि जोडिएको छ ।  

आज नागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ नागेश्वरी धाम, पशुपति क्षेत्रस्थित कागेश्वरी मन्दिर र हनुमानढोका दरबार क्षेत्रस्थित नागेश्वरी मन्दिर क्षेत्रमा पनि कागेश्वर महादेवको पूजा आराधना गरी मीठा मीठा खानेकुरा खुवाउनेको भीड लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्