बेलबारीमा जनगणना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


बेलबारी, २४ कार्तिक । मोरङको बेलबारीमा जनगणनाको बारेमा जानकारी दिने उद्देश्यले ‘१२ औँ राष्ट्रिय आदिवासीको सचेतना’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलबारी नगरपालिकामा रहेको नेपाल आदिवासी सभा हलमा सम्पन्न कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महासङ्घ बेलबारी नगर समन्वयन परिषद्ले गरेको हो। 

कार्यक्रममा बेलबारीमा रहेका आदिवासी जनजातिसँग सम्बन्धित सबै सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।            

आदिवासी स्वयम सचेत नहुँदा अघिल्ला जनगणनाले तथ्याङ्क दिन नसकेको आदिवासीसँग सम्बन्धित सङ्घ संस्थाहरूले आरोप लगाउँदै आएको परिप्रेक्षमा गरिएको सचेतना कार्यक्रमले यसपालिको जनगणनामा भने सही तथ्याङ्क आउने विश्वास गरिएको छ । नेपाल जनगणना मोरङका जनगणना अधिकृत सुमन कुमार श्रेष्ठले जनगणनाका बारेमा जानकारी गराएउँदै सहभागीका सवालका जवाफसमेत दिएका थिए  । 

संस्थाका उपाध्यक्ष कुमार बोखिमले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद्का अध्यक्ष तिलक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव मनकुमार गुरुङले गरेका थिए ।

जिल्ला जनगणना कार्यालय बेलबारीमा

जिल्ला जनगणना कार्यालय बेलबारीमा स्थापना भएको छ । जनगणना प्रयोजनका लागि मोरङमा दुई वटा मुख्य कार्यालय रहेकोमा विराटनगरमा रहेको प्रदेश जनगणना कार्यालयले ७ वटा र बेलबारीमा रहेको जिल्ला जनगणना कार्यालयले १० वटा स्थानीय पालिकाको तथ्याङ्क सङ्कलन गर्ने गर्छ ।

यसका साथै दुई वटा स्थानीय पालिकालाई हेर्ने गरी स्थानीय जनगणना कार्यालयको गठन गरिएको जिल्ला जनगणना मोरङका जनगणना अधिकृत सुमन कुमार श्रेष्ठले जनाएका छन् ।

जनगणनाको सुरुवात नेपालमा वि.स. १९६८ सालमा भएको हो । चन्द्र शमशेरले सुरु गरेको जनगणना गर्ने कार्य २०७८ मा आइपुग्दा १२ औँ जनगणना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्