बेलबारीकी तीला लेकालीसहित तीन जना स्रष्टा विराटनगरमा पुरस्कृत


बेलबारी, २८ कार्तिक । विराट साहित्य सङ्गमद्वारा बेलबारीकी तीला लेकालीसहित तीन जना स्रष्टाहरू विराटनगरमा पुरस्कृत भएका छन् । लेकालीसहित स्रष्टाहरू मीना अधिकारी र प्रिन्स प्रमोद ढकाल पुरस्कृत भएका हुन् । विराट साहित्य सङ्गम विराटनगरले शनिवार एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई पुरस्कृत गरेको हो । 

मोरङ बेलबारीकी तीला लेकाली ५ हजार १ सय राशिको ‘राधादेवी दाहाल स्मृति पुरस्कार’, बिर्तामोडकी मीना अधिकारीलाई ५ हजार १ सय राशिकै ‘बैजनाथ यमुनादेवी भट्टराई स्मृति पुरस्कार’ र विराटनगरका प्रिन्स प्रमोद ढकाललाई २ हजार ५ सय राशिको ‘विराट साहित्य सङ्गम पुरस्कार’बाट पुरस्कृत भएका हुन् ।  

संस्थाका संस्थापक अध्यक्ष एवम् साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नरेन्द्र स्मृति प्रतिष्ठान संरक्षक सरला चापागाईँ, प्राज्ञ खेम नेपाली, नाट्यकर्मी भरत गुरागाईँ ‘बर्बरिक, भीम कोइराला, लोचन रिजाल लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा रचना वाचनसमेत गरिएको थियो ।

विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव गोपाल निर्भीकको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्