जनगणना कार्यालयलाई कार्यविधि विपरीत काम नगर्न आदिवासी जनजाति महासंघको आग्रह


बेलबारी, २९ कार्तिक । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीद्वारा जिल्ला जनगणना कार्यालय बेलबारी, मोरङ ‘ख’ लाई ध्यानाकर्षण पत्र बुझाएको छ । २५ गते देखी जारी १२ औँ जनगणना अभियानमा कार्य विधि विपरीत काम भएको भन्दै आइतबार आदिवासी जनजाति महासंघले ध्यानाकर्षण पत्र बुझाएको हो । 

बेलबारी नगरपालिका भित्र विवरण लिने क्रममा जाति, भाषा, धर्मको महलमा पुर्खाको भाषा, मातृ भाषा, दोस्रो भाषाको महलमा घर मुलीले दिएको विवरण भन्दा फरक रहेको साथै धर्ममा हिन्दु र भाषामा नेपाली लेख्ने गरेको पाइएको नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीका सचिव मनकुमार गुरुङले बताएका छन् । साथै मेटाउन सजिलो हुने गरी पेन्सिलले लेखेको पनि भेटिएको गुरुङले बताए । जुन १२ औँ जनगणना कार्य विधि विपरीत रहेकोले तत्काल सुधार गर्न जिल्ला जनगणना कार्यालय बेलबारी, मोरङ ख लाई आग्रह गरेको छ । 

पत्र बुझाउन तथा ध्यानाकर्षण गराउन महासंघका जातीय संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो । पुनः कार्य विधि विपरीत काम भएको भेटिए र बिग्रिएको विवरण अविलम्ब नसुधारिए आन्दोलन तथा आवश्यक विरोध कार्यक्रम तत्काल सुरु गर्ने जातीय संस्थाका प्रतिनिधिहरूले बताएका छन् । 

जिल्ला जनगणना कार्यालय बेलबारी, मोरङ ‘ख’ ले बुझिलिँदै १२ औँ जनगणना कार्य विधि विपरीत काम नहुने यदि भएको छ भने तुरुन्त सुधार गर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्