राष्ट्रपति सीको घोषणा : हिमालय सीमापारि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने


काठमाडौँ, २५ असोज ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापारि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । राष्ट्रपति सीको नेपाल भ्रमणमा आइतबार सम्म रहने छन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा शनिवार अपराह्न काठमाडौँ आएका राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटेल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् ।

शीर्ष नेताहरूको उपस्थिति रहेको रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । पहिले सम्बोधन गरेकी भण्डारीले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताएकी थिइन् ।

त्यसपछि सम्बोधन गरेका राष्ट्रपति सीले हिमालय सीमापारि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताए । उनले रसुवागढी(छहरे(काठमाडौँ सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नति गर्ने पनि बताए । उनले भने(मलाई आशा छ, दुई देशबिच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ ।

आइतबार चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबिच वार्तामा यसबारे औपचारिक सहमतिमा हस्ताक्षर हुने बताइएको छ । राष्ट्रपति सीले ल्याण्डलक्ड नेपाल अब ल्याण्डलिङ्क्ड हुनेसमेत बताए ।

चिनियाँ राष्ट्रपति सीले नेपाल(चीन सम्बन्धमा कुनै समस्या नरहेको, मित्रतामात्र रहेको पनि बताए । नेपाल आउँदा पुराना तथा नयाँ साथीहरूसँग भेट भएको भन्दै उनले भने, आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।

नेपाली नेतासँग मिलेर दुई देशको सम्बन्धको नयाँ खाका कोरेको भन्दै सीले भने( हामीले बनाएको योजना पूरा गरौँ, चीनमा पनि हामीले यस्तै गर्दै आएका छौँ ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी र आफूबिच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएकोसमेत जानकारी दिए ।

सीले नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपालमा जान उत्प्रेरित गर्ने पनि बताए । साथै जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्नेसमेत सीले बताएका छन् । (अनलाइनखबरबाट)

प्रतिक्रिया दिनुहोस्