किसानलाई कृषि औजार वितरण गर्दै बेलबारी नगरपालिका


बेलबारी, ४ मङ्सिर । बेलबारी नगरपालिकाले कृषि व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले किसानलाई कृषि औजार वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तरगत नगरपालिकाले बेलबारी नगरपालिका वडा नं ४ मा कृषि औजार तथा मकैको बीउ वितरण गरेको हो । 

शुक्रवार बेलबारी नगरपालिका वडा नं ४ मा आयोजित कार्यक्रममा नगरप्रमुख ज्ञानेन्द्र सुवेदी तथा उपप्रमुख ढाकाकुमारी पराजुलीले किसानलाई ती औजार वितरण गरेका हुन् । कृषि औजार वितरण गर्दै नगरप्रमुख सुवेदीले कृषिलाई प्रवर्धन गर्ने क्रममा रहेको बताउँदै प्राप्त गरेका सामग्रीहरूको अधिकतम प्रयोग गरेर राम्रो उत्पादन लिन आग्रह गरेका थिए । साथै नगरप्रमुख सुवेदीले पाएका सामग्रीको सदुपयोग गर्नसमेत आग्रह गरेका थिए । 

मकै पकेट कार्यक्रमअन्तर्गत सामग्री वितरण गरिएको सौन्दर्य कृषि सहकारी संस्थाा बेलबारी ४ सखुवा टोलीकी अध्यक्ष सरस्वता पौडेलले जानकारी दिइन । अध्यक्ष पौडेलले ५० प्रतिशत नगरपालिकाको अनुदानमा ७० जनाभन्दा बढी किसानलाई कृषि औजार वितरण गरिएको बताइन् । उक्त अवसरमा किसानले अनुदानमा कृषि औजारका साथै बीउ विजन पनि पाएका थिए । 

अनुदानमा औजार तथा बीउ पाए पछि स्थानीय पनि खुसी देखिएका छन् । यसरी अनुदानमा कृषि औजार तथा बीउ विजन उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवादसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्