बेलबारीको सृजना घरमा नाटक सम्बन्धी अन्तरक्रिया कार्यक्रम


बेलबारी, ६ मङ्सिर । मोरङको बेलबारीमा ‘लेट्स इन्टर्याक्ट’ कार्यक्रम अन्तरगत विद्यालयमा नाटकको महत्त्व, नाटक विधाको पठन पाठन र त्यसका चुनौति विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलबारी –३ मा रहेको सृजना घरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

नाटकको महत्त्व, विद्यालयमा नाटक कसरी पढाउने र त्यसमा देखिएका चुनौतिका विषयमा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सृजना घरका सञ्चालक विकास बुढाथोकी बताउँछन् ।  

कार्यक्रममा अस्ट्रियाका नाट्यकर्मी माइकल थोनहाउजर, कलालय इटहरीका सोनु जयन्ती, मण्डला थिएटर काठमाडौँका सोमनाथ खनाल र बेलबारीकी लेखिका रेखा सुबेदी प्यानलिष्टका रूपमा रहेका थिए । 

कार्यक्रममा गुरुकुल, सगरमाथा, शिक्षा सन्देश लगायतका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो । सगरमाथा इङ्लिस स्कुलकी कक्षा १० की छात्रा दीपशिखा श्रेष्ठले कार्यक्रम उपयोगी उपयोगी भएको बताइन भने शिक्षा सन्देश इङ्लिस स्कुलका कक्षा ११ का छात्रा आलोक खत्रीले नाटकको माध्यमबाट दिइने सिकाइ र विद्यालयमा दैनिक पठनपाठनबाट दिइने सिकाइको फरकका बारेमा प्रश्न गरेका थिए । 

साथै कार्यक्रममा विद्यार्थीका अलावा शिक्षक तथा अभिभावकहरूले पनि जिज्ञासा राखेका थिए । प्यानलिष्टहरुले विद्यार्थी, शिक्षक तथा अभिभावकले राखेका जिज्ञासाको उत्तर दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्