हिंसारहित समाज निर्माण आजको आवश्यकता रहेको प्रधानमन्त्री देउवाको भनाइ


काठमाडौँ, ९ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाजको आवश्यकता रहेको बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताएका हुन् । 

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि सुरु भएको छ । ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराकासाथ यस वर्ष नेपालमा पनि यो दिवस मनाउन लागिएको छ ।

यो अभियानलाई प्रभावकारी रूपले मनाउन प्रधानमन्त्री देउवाले सङ्घ, प्रदेश र स्थानीय तहलगायत सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘यस अभियानले हामी सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरूपमा अन्त्य गर्न थप ऊर्जा मिलोस् ।’

प्रतिक्रिया दिनुहोस्