प्रधानन्यायाधीशविरूद्ध सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास हुँदै


काठमाडौँ, ९ मङ्सिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विरोधमा आज (बिहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ । नेपाल बार एशोसिएशनको अगुवाइमा कानुन व्यवसायीहरूसहित विभिन्न संस्थाहरूले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै मार्चपास गर्न लागेका हुन् ।


मार्च पासमा नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घ लगायतका सङ्घ संस्थाहरू संलग्न रहेका छन् । 


प्रधानन्यायाधीश राणाले पदको गरिमालाई जोगाउन नसकेको भन्दै उनलाई महाअभियोग लगाएर हटाउनु पर्ने माग उठिरहेको छ । नेपाल बारले यसअघि नै सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राणाविरुद्ध महाअभियोग लगाउन अनुरोधसमेत गरिसकेको छ । प्रधानन्यायाधीशविरुद्ध लामो समय समयदेखि आन्दोलनरत रहेको बारले उनी पदबाट नहटेसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्