बेलबारीमा कार्यरत प्रहरी सहायक निरीक्षक साह कार्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित


बेलबारी, ९ मङ्सिर । ट्राफिक प्रहरी पोस्ट बेलबारीमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेमकुमार साह कार्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय धरान, सुनसरीमा दरबन्दी भई विगत १५ महिनादेखि बेलबारीको ट्राफिक पोस्टको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका साह कार्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


विभागीय निर्देशनको पूर्ण रूपमा पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलकासाथ काम गरेको, सरोकारवालाहरू निकायसँग सहकार्य गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गरेको, सिसी टिभी क्यामराहरूको जडान तथा बिग्रेका क्यामराहरूको मर्मत गरी सवारी दुर्घटनामा कमी ल्याउन विशेष योगदान पुर्याएकोले उनको कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै साहलाई २०७८ साल ‘कार्तिक महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरिएको बताइएको छ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले १ नम्बर प्रदेश भरिका ट्राफिक प्रहरीहरू मध्येबाट प्रत्येक महिना उत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

उत्कृष्ट हुने ट्राफिक प्रहरीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश अन्तर्गत रहेका ट्राफिक प्रहरी कार्यालयहरूमा १ महिना सम्म राख्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्