जसपाले प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटायो


काठमाडौँ, ९ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदीप यादवलाई कारबाही गरेको छ । सांसद समेत रहेका यादवलाई पार्टी अध्यक्षको पुत्ला जलाउन कार्यकर्ता प्रयोग गरेको आरोपमा उनलाई केन्द्रीय सदस्यबाट हटाइएको हो ।


केन्द्रीय सदस्यबाट हटाइए पनि उनलाई साधारण सदस्य कायम राखिएको छ । साधारण सदस्य कायम रहेकोले उनको सांसद पद भने जोगिएको छ । यादवमाथि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पार्टी फुटाउने प्रयास गरेको आरोप रहेको छ । आफ्ना सांसदलाई मन्त्री नबनाइएको भन्दै उनको क्षेत्रबाट आएका कार्यकर्ताहरूले बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए । 

पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतलासमेत जलाइए पछि अध्यक्षकै प्रस्तावमा उनलाई केन्द्रीय सदस्यबाट हटाइएको जनाइएको छ । जसपा नेता इस्तियाक राईले नवराज सुवेदीको संयोजकत्वमा यादवका विषयमा छानबिन गर्न समिति गठन भएको बताएका छन् ।

नेता राईले भने ‘प्रदीपजीका विषयमा छानबिन गर्न समिति बनेको छ, त्यो समितिले उहाँका विषयमा छानबिन गर्छ । छानबिनमा उहाँ निर्दोष देखिनु भयो भने उहाँमाथिको कारबाही फिर्ता हुन्छ । आरोप प्रमाणित भए कारबाही यथावत् रहन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्