राष्ट्रिय जनगणना २०७८ सम्पन्न : जनसङ्ख्या तीन करोडको हाराहारीमा पुग्ने अनुमान


बेलबारी, १० मङ्सिर । राष्ट्रिय जनगणना २०७८सम्पन्न भएको छ । कार्तिक २५ देखि घरघरमा पुगेर सुरु भएको जनगणना लिने कार्य मङ्सिर ९ गते सम्पन्न भएको हो ।

केन्द्रीय तथ्याङ्क विभागले आज (शुक्रवार) पत्रकार सम्मेलन गर्दै कार्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिनाअवरोध सम्पन्न भएको जनाएको छ ।

जिल्ला जनगणना कार्यालयले मङ्सिर मसान्त सम्ममा जिल्लाको विवरण केन्द्रमा पठाउने र प्राप्त भएको विवरणलाई विभागले इन्ट्री गर्नेछ । यो विवरणलाई इन्ट्री गर्न कम्तीमा ६ देखि आठ महिना सम्म लाग्न सक्ने विभागले जनाएको छ । तर जनसङ्ख्याको प्रारम्भिक नतिजा भने तीन महिनाभित्र आउनसक्ने विभागको अनुमान रहेको छ । 

राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशङ्काहरू उब्जिए पनि विभागले सम्बन्धित पक्षहरूसँग छलफल गरी जनगणना कार्यलाई अगाडि बढाएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताएका छन् । यसपालि नेपालको जनसङ्ख्या दुई करोड ८० लाखदेखि तीन करोडको हाराहारीसम्म पुग्ने अनुमान गरिएको छ । 

लिपुलेक र लिम्पिया धुराको जनगणना हुन सकेन 

सरकारले लिपुलेक र लिम्पिया धुरा लगायतका क्षेत्रमा पनि जनगणना गर्ने बताएको थियो । तर ती क्षेत्रमा जनगणना हुन सकेको छैन । विगत लामो समयदेखि भारतको कब्जामा रहेका ती क्षेत्रमा जनगणना गर्न गणक जाने अवस्था पनि छैन । त्यहाँ कति घरधुरी छन् र त्यस क्षेत्रमा कति जनसङ्ख्या छ भन्ने सम्म पनि सरकारसँग तथ्याङ्क छैन । तर विभागले भने केही विवादित क्षेत्रहरूमा भने कूटनीतिक पहल गरी छिट्टै गणना सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्