मैनालीमाथि प्रचण्डको कटाक्ष ‘राप्रपाको अध्यक्ष बन्न लाग्नु भएको हो भने सीपीजीलाई बधाई’


काठमाडौँ, १५ मङ्सिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले नेकपा मालेका महासचिव मैनालीमाथि ‘राप्रपाको अध्यक्ष बन्न लाग्नु भएको हो भने सीपीजीलाई बधाई’ भन्दै कटाक्ष गरेका छन् ।राप्रपाको एकताको महाधिवेशनमा मैनालीले राजा महेन्द्रलाई राष्ट्रवादी नेताको रूपमा अङ्कित गर्दै दिएको अभिव्यक्तिलाई लिएर प्रचण्डले कटाक्ष व्यक्त गरेका हुन् । 

सीपी मैनालीले सम्बोधनका क्रममा राजा महेन्द्रलाई राष्ट्रवादीको संज्ञा दिएका थिए । साथै उनले माओवादीको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको पनि बताएका थिए । प्रत्युत्तरमा उनले प्रचण्डले भने ‘तपाईँहरूको र हाम्रो विचार र मत त्यति मिल्दैन । तर, राष्ट्रिय भावना, स्वाधीनताप्रतिको निष्ठा र देशभक्ति एउटै छ, त्यस अर्थमा तपाई हामी उस्तै उस्तै गोत्र भनेको थिएँ मैले । हाम्रो विचार र दर्शन मिल्दैन । म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनु भयो । पहिला राजतन्त्र सिद्ध्याउनु पर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो । अहिले तपाईँहरूको अगाडि महान् राजा पनि भन्नु भयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँचै त्यसै हो भने सीपीजीलाई बधाई छ ।’

प्रचण्डले आफू धर्मनिरपेक्ष वादी भएको र राष्ट्रवादी भएको स्पष्ट गरे । अध्यक्ष प्रचण्डले सोही कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाईसमेत पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्