आजदेखि ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली सङ्कलन गरिँदै


काठमाडौँ, १७ मङ्सिर । निर्वाचन आयोगले आज (शुक्रवार) देखि मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६३७ स्थानीय तहका केन्द्रबाट मतदाता नामावली दर्ता गराउन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

त्यसबाहेक ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट हाल भइरहेको मतदाता नामावली सङ्कलनको काम निरन्तर हुनेछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता नामावली सङ्कलनको काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिन हुनेछ । संकलनकार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने र सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिने जानकारी दिएका छन् ।

आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण सङ्कलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्