हिमालय साकोसको २४ औँ साधारण सभा साथै भवन उद्घाटन कार्यक्रम सम्पन्न


मोरङ, २९ असोज / मोरङको केराबारीमा श्री हिमालय बचत तथा ऋण सहकारी संस्थाको  २४ औँ साधारण सभा साथै भवन उद्घाटन कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
२४ औँ साधारण सभा साथै भवन उद्घाटन कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय बचत संघ नेफस्कुनका पूर्व सचिव घनश्यम खतिवडाले गरेका थिए ।

कार्यक्रममा प्रदेश सांसद उपेन्द्र घिमिरे, केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, केराबारी गाउँपालिका वाड नं ९ का अध्यक्ष भूपतेन्द्रप्रताप मल्ल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष सोमनाथ निरौला, लालीगुराँस साकोस बेलबारीका अध्यक्ष दुर्गाप्रसाद गौतम लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शुभकामना प्रदान गर्दै प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सांसद खतिवडाले सहकारीले आर्थिक समृद्धिको साथै समजिक तथा सांस्कृतिक विकास गर्ने बताएका छन् । प्रदेश सांसद उपेन्द्र घिमिरे, गाउँपालिकाका अध्यक्ष रोहित कार्की लगायतकाले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।

प्रदेश सांसद घिमिरेले शुभकामना प्रदान गर्दै प्रदेश सरकारले सहकारी ऐन पास गरी सकेको जनाएका छन् । केन्द्रीय सरकारले, प्रदेशले र स्थानीय सरकारले कुन कुन सहकारीलाई हेर्ने, त्यसको योजना, अनुगमन, समन्वय कसले गर्ने भन्ने विषयमा एउटा प्रस्ट नीति बनिसकेको बताएका छन् । कार्यक्षेत्रको आधारमा सहकारीको तहको फरक छुटिने सांसद घिमिरेले जनाएका छन् ।

केराबारी गाउँपालिका अध्यक्ष कार्कीले पनि शुभकामना प्रदान गर्दै केराबारीको बेल्चौरीको पुलबारे संसदमा नै कुरा उठेता पनि निर्माण पुरा हुन नसकेको गुनासो राख्दै, निर्माण कार्य सम्पन्न गर्न प्रतिनिधिसभा सदस्य खतिवडा साथै प्रदेश सांसद घिमिरेलाई पनि सहयोग गर्न अनुरोध गरेका छन । उनले स्थानीयपालिकाको ठुला योजनाका लागि प्रदेश तथा संघसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।


कार्यक्रममा संस्थाका पूर्व सञ्चालक तथा संस्थापक सदस्यहरू श्री इन्दु खनाल सुवेदी, श्री नीलकण्ठ थापालाई सम्मान गरिएको छ । त्यस्तै सतिमाया बस्नेत, जंगीलाल पण्डित, गंगाप्रसाद गिरी र धनकुमारी राई गरी संस्थाका चार जेष्ठ सदस्यहरूलाई पनि सम्मान गरिएको छ ।

साथै सो अवसरका एकल महिला, उत्कृष्ट बचत गर्ने सेयर सदस्य तथा एसइईमा उत्कृष्ट अङ्क ल्याउने सेयर सदस्यका सन्तानलाई समेत पुरस्कृत गरिएको छ ।
हिमालय साकोसको २४ औँ साधारण सभा साथै भवन उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद सुवेदीलेको अध्यक्षमा सम्पन्न भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्