मोरङको केराबारीमा कुटपिटमा परेर एक जना युवकको मृत्यु


मोरङ, १८ मङ्सिर । मोरङको केराबारीमा कुटपिटमा परेर एक जना युवकको मृत्यु भएको छ । मृत्यु सुनसरीको धरान उपमहानगरपालिका–६ पानमाराका २० वर्षीय अनिश कटुवाल रहेको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसीले केराबारी गाउँपालिका–६ को मुगुमा एक जना युवक शुक्रवार मृत फेला परेको बताएका छन् । 

मृतक कटुवाललाई बिहीबार चार–पाँच जनाको सङ्ख्यामा रहेका युवाहरूले दिउँसो मोबाइल चोरीको आरोपमा कुटपिट गरेर छाडेका थिए । तर उनी शुक्रवार केराबारी–६ का खेम लिम्बूको घरभित्र मृत भेटिएका थिए । मृतक कटुवाल केराबारी–६ का खेम लिम्बूको घरभित्र मृत भेटिएका थिए ।

प्रहरी प्रमुख डिआइजी बिसीले कुटपिट पछि कटुवाल कोठाभित्रबाट चुक्कुल लगाएर सुतेका उनी नउठेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । शुक्रवार दिउँसो १ बजेतिर घटनास्थल पुगेको प्रहरीले चुक्कुल फुटाएर हेर्दा मुख र नाकबाट रगत बगिरहेको अवस्थामा ओछ्यानमै शव भेटिएको बताए । मृतक अनिश र उनका साथी धरान पान माराकै २० वर्षीय विशाल विश्वकर्मामाथि मोबाइल चोरीको आरोप लगाएर बिहीबार दिउँसो ४ बजेतिर युवाहरूले केराबारीको मुगु पुलनजिक कुटपिट गरेको प्रहरीले बताएको छ । 

मृतक कटुवालको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्