जिल्ला बचत तथा ऋण सहकारी संस्था मोरङको २८ औँ साधारण सभा सम्पन्न


बेलबारी, १८ मङ्सिर । जिल्ला बचत तथा ऋण सहकारी संस्था मोरङले आज (शनिवार) एक कार्यक्रमकाबिच आफ्नो २८ औँ साधारण सभा सम्पन्न गरेको छ । बेलबारी –३ मा रहेको संस्थाको आफ्नै सभाहलमा सम्पन्न साधारसभाको उद्घाटन सङ्घीय सांसद घनश्याम खतिवडाले गरेका थिए ।   

कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद खतिवडाले सहकारी सधैँ सदस्यको सेवामा केन्द्रित हुनुपर्ने बताए । सङ्घीय संसदअन्तरगतको सहकारी विषयगत उपसमितिका सभापतिसमेत रहेका सांसद खतिवडाले आफ्नो भूमिका सधैँ सहकारीलाई व्यवस्थित बनाउनेतर्फ रहेका बताए । सांसद खतिवडाले पछिल्लो समय सहकारीमा राजनीति छिरेको प्रसङ्ग निकाल्दै सहकारी पसेर राजनीति गर्न नहुने पनि बताए ।                                                 

कार्यक्रमका विशिष्ट अतिथि एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले आफूहरू सहकारीलाई व्यवस्थित गर्ने क्रममा रहेको बताए । कार्यक्रममा सहकारी अभियन्ता एवम् कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले सहकारीमा एकताको खाँचो औँल्याउँदै उद्देश्य मिल्ने सहकारीलाई मर्जरमा जानु पर्नेमा जोड दिए । 

साथै कार्यक्रममा नेफ्स्कूनका कार्यकारी निर्देशक प्रकाश पोखरेल, नेपाल बचत सङ्घ तदर्थ समितिका प्रदेश १ का सचिव लक्ष्मी सापकोटा, पूर्व सञ्चालक गोमा नेपाल, सम्मानित व्यक्तित्व यज्ञप्रसाद ढुङ्गेल लगायतकाले आ -आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा नेपालको सहकारी आन्दोलनलाई ठूलो योगदान दिएका नेफ्स्कूनका पूर्व सञ्चालक यज्ञराज ढुङ्गेललाई विशेष सम्मान गरिएको थियो ।    विभिन्न सूचकका आधारमा मोरङ जिल्लाभरिका तीन वटा बचत तथा ऋण सहकारी संस्थाहरूलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट संस्था पुरस्कारबाट पुरस्कृत हुनेमा अष्टलक्ष्मी साकोस –पथरिशनिश्चरे, सुनगाभा साकोस –रतुवामाइ र जनप्रेमी साकोस –बेलबारी रहेका छन् । 

साथै कार्यक्रममा गोपा नेपाल, मित्रप्रसाद रिजाल र डिल्लीराम शर्मालाई पूर्व सञ्चालक सम्मान प्रदान गरिएको थियो भने लालीगुराँस साकोस बेलबारीका केशव रुपाखेती, सुनपकुवा साकोस –उर्लाबारीका राजकुमार बराल, वीरेन्द्र साकोस पथरिशनिश्चरेका पुण्य बराल, जनएकता साकोसका कानेपोखरीका डोरमणि श्रेष्ठ, र हाम्रो साकोस उर्लाबारीकी तेजकुमारी कार्कीलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो । 

उक्त अवसरमा सहसचिव कृष्णराज खतिवडाले संस्थाको प्रगति प्रतिवेदन कोषाध्यक्ष जीवन बस्नेतले आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक विष्णु ओझाले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।   

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदी, नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशवप्रसाद पोखरेल, नेपाल बचत सङ्घ तदर्थ समितिका उपाध्यक्ष हरिप्रसाद सुवेदी, नेपाल बचत सङ्घ तदर्थ समितिका सचिव लक्ष्मी सापकोटा, लालीगुराँस बचत तथा ऋण सहकारीका अध्यक्ष एवम् सहकारी सञ्जाल बेलबारीका अध्यक्ष दुर्गाप्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो । 

जिल्ला बचत सङ मोरङका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन भने सङ्घका वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइरालाको रहेको छ ।                                                          

प्रतिक्रिया दिनुहोस्