सामुदायिक वनभित्र सडे गलेको अवस्थामा शव फेला


बेलबारी, २० मङ्सिर । मोरङको बेलबारीमा सडे गलेको र दुर्गन्धित अवस्थामा शव फेला परेको छ । बेलबारी नगरपालिका वडा नम्बर ११ स्थित लक्ष्मी सामुदायिक वन क्षेत्रभित्र दुई वटा खुट्टा, एक वटा हात र टाउको मुनिदेखि कम्मरको भाग सम्म रहेको सडिगली किरा परी दुर्गन्धित अवस्थामा रहेको शव भेटिएको बेलबारी प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीले वन भित्र पिठारीको रुख छेउमा हातको नाडीको भाँगमा रातो डोरी बाँधिएको पहिचान गर्न नसक्ने अवस्थाको शव फेला परेको बताएको छ । शव सेतो निलो रङ्गको खुइलिएको भेष्ट् लगाएको लिङ, उमेर अन्य केही पनि जानकारी पहिचान गर्न सकिने अवस्थामा नरहेको शव फेला परेको छ ।

शवलाई पोस्टमार्टम गर्न लैजान सक्ने अवस्था नरहेकाले खुट्टाको हड्डीको भाग निकाली अन्य कङ्कालको भाग सोही स्थानमा खाल्डो खनी पुरिएको प्रहरीले जनाएको छ । साथै प्रहरीले उल्लेखित हुलिया भएको मानिस हराइ बेपत्ता भएको भए इलाका प्रहरी कार्यालय बेलबारी सम्पर्क गर्न अनुरोध अनुरोध गरेको  छ ।

प्रतिक्रिया दिनुहोस्