क्याम्पसले भोगचलन गरेको जग्गा व्यक्तिका नाममा नामसारी गर्ने निर्णयविरुद्ध विद्यार्थी आन्दोलित


धरान, २१ मङ्सिर । क्याम्पसको जग्गाको विषयलाई लिएर धरान उपमहानगर–११ स्थित महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीहरू आन्दोलित भएका छन् । क्याम्पसले भोगचलन गर्दै आएको करिब १७ कट्ठा १८ धुर जग्गा मोही हकको बहानामा भूमाफियाले हत्याउन खोजेको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।


क्याम्पसले भोगचलन गर्दै आएको जग्गा मोहीका हकवालाको नाममा नामसारी गरिदिने भूमिसुधार तथा मालपोत कार्यालयको निर्णयप्रति विरोध जनाउँदै विद्यार्थी सङ्गठनले विरोध जनाएका छन् । अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, सङ्घीय लिम्बुवान मञ्च, समाजवादी विद्यार्थी युनियन लगायतका विद्यार्थी सङ्गठनहरू एक ढिक्का भएर उक्त जग्गा कुनै पनि बाहानमा व्यक्तिको नाममा जान नहुने, क्याम्पसकै नाममा रहनु पर्ने अडानमा छन् ।  

सोमबार दिउँसो विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुख भण्डारीले क्याम्पसको जग्गा संरक्षणमा बेवास्ता गरेको आरोप लगाउँदै उनका कक्षामा रहेका टेबलकुर्सीलाई विद्यार्थी सङ्गठनले बाहिर निकालेर जलाएका थिए । 

उता क्याम्पसका प्रमुख दामोदर भण्डारी भने अहिले यसै विषयमा कानुनी परामर्श लिन त्रिभुवन विश्वविद्यालय गएको बुझिएको छ । उक्त आदेशलाई लिएर क्याम्पस प्रशासनले उच्च अदालतमा पुनरावेदन गर्ने तयारीमा छ ।

भूमिसुधार तथा मालपोत कार्यालयले असोज २५ गते मोहीका हकवालाका नाममा नामसारी गरिदिन भन्दै आदेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्