‘बेलबारी अन्तर स्कुल – कलेज कप –२०७८’ को उद्घाटन


बेलबारी, २१ मङ्सिर । बेलबारी – ८ राधा नगरमा रहेको श्री सिंहदेवी एकेडेमीको आयोजनामा ‘बेलबारी अन्तर स्कुल कप –२०७८’ सुरु भएको छ । आज एक कार्यक्रमबिच राधा नगरमा रहेको एम्ब्रियो खेलमैदानमा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले प्रतियोगिताको उद्घाटन गरेका छन् । 

प्रतियोगिताको उद्घाटन सत्रमा प्याब्सन मोरङका कोषाध्यक्ष जगत बस्नेत, बेलबारी प्याब्सनका अध्यक्ष भगवतीप्रसाद काफ्ले, नेपाल बचत सङ्घ तदर्थ समिति प्रदेश नं १ का उपाध्यक्ष हरिप्रसाद सुवेदी, एकता युवा समूह बेलबारीका अध्यक्ष अमिर मगर, भाउन्ने यूथ क्लबका अध्यक्ष सन्तोष तामाङ लगायतको सहभागिता रहेको थियो । 

प्रतियोगितामा बेलबारी नगरपालिकामा रहेका विभिन्न १० वटा टिमले सहभागिता जनाउने सिंहदेवी एकेडेमीका प्रिन्सिपल रविन थापाले जानकारी दिएका छन् ।  

सात दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले रु ३० हजार, ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेताले नगद २० हजार र ट्रफि तथा प्रमाण पत्र पाउने खेल संयोजक लाखबहादुर गुरुङले जनाकारी दिएका छन् । 

आजको उद्घाटन खेलमा भगवती मावि बेलबारी ३ ले लक्ष्मी मावि बेलबारी ११ लाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ भने माउन्ट एभरेस्ट इङ्लिस स्कुल बेलबारी ११ ले शिक्षा सन्देश इङ्लिस स्कुल बेलबारी २ लाई शून्यका विरुद्ध १ गोलले पराजित गरेको छ ।

भोलि (बुधवार)को पहिलो खेल कसेनी मावि बेलबारी ४ र धमपाल मावि बेलबारी ६ बिच हुने छ भने दोस्रो खेल जनता मावि बेलबारी ८ र बालजगत इङ्लिस स्कुल बेलबारी ९ बिच हुने आयोजकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्