गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुट


सप्तरी, २२ मङ्सिर । सप्तरीमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिच कुटाकुट भएको छ । छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबिच कार्यपालिकाको बैठकमै कुटाकुट भएको हो । 

यसरी कुटाकुट हुँदा अध्यक्ष मण्डलका दुई वटा दाँत भाँचिएका छन् । उता उपाध्यक्ष पनि घाइते भएको बताइएको छ । 

किसानलाई गहुँको बिउ वितरण गर्ने विषयलाई लिएर उनीहरूबिच विवाद भएको र त्यही विवादले उग्ररुप लिँदा झडप भएको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवले बताए । विवाद बढ्दै गए पछि उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गरेकी थिइन । यस क्रममा उनकै हातको चुरा फुटेर घाउ भएको वडा अध्यक्ष यादवले बताए । 

अध्यक्ष र उपाध्यक्षबिचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई वर्षको गाउँसभा हुन सकेको थिएन । गाउँसभा नबस्दा तलब नपाएको भन्दै कर्मचारीले आन्दोलन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्