बेलबारी १० मा रहेको श्री महेन्द्र माविको ५६ औँ वार्षिक उत्सव सम्पन्न


बेलबारी, २२ मङ्सिर । बेलबारी १० मा रहेको श्री महेन्द्र माविले बुधवार एक कार्यक्रमकाबिच आफ्नो ५६ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ ।                               

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेको उक्त कार्यक्रममा बेलबारी नगरपालिका उपप्रमुख ढाकाकुमारी पराजुली, १० नं वडा अध्यक्ष गङ्गाबहादुर याखा, विद्यालयका पूर्वप्रधानाध्यापकहरु बलिराम सुब्बा, गणेशप्रसाद आचार्य, लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतम लगायतको सहभागिता रहेको थियो ।

५६ औ वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले भौतिक पूर्वाधारको विकासले मात्र विद्यालयको सुधार भएको मान्न नसकिने बताउँदै बालबालिकाको बानीमा सुधारको खाँचो रहेको बताए । नगरप्रमुख सुवेदीले आफूहरू जनप्रतिनिधि भएर आएको पहिलो बैठकबाटै पारित गरिएको विद्यार्थी खाजा कार्यक्रमको स्मरण गर्दै यस कार्यक्रमले बालबालिकालाई विद्यालय आउन ठूलो सहयोग पुगेको बताए । साथै शैक्षिक गुणस्तरलाई माथि उठाउने काममा नगरपालिका लागिरहेको बताए । 

उपप्रमुख ढाकाकुमारी पराजुलीले शिक्षाको गुणस्तर माथि उठाउन शिक्षक, विद्यार्थी र अभिभावको त्रिकोणात्मक सम्बन्ध रहने बताइन् । उपप्रमुख पराजुलीले शैक्षिक गुणस्तर माथि उठाउन सरोकारवाला निकायको सक्रिय भूमिकाको आवश्यकता रहेको बताइन् ।                       

उक्त अवसरमा बेलबारी नगरपालिका वडा नं १० अध्यक्ष गङ्गाबहादुर याखा, लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतम लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।  

सोही अवसरमा नगरपालिकाको सहयोगमा निर्मित नयाँ भवनको उद्घाटनसमेत गरिएको थियो । विद्यालयका प्रतिवेदन दीक्षा तुम्साले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेकी थिइन। कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनमा उल्लेखनीय भूमिका निभाउने पूर्व प्रधानाध्यापक बलिराम सुब्बालाई सम्मान गरिएको थियो । उक्त अवसरमा  पुरस्कारकार वितरणका साथै २०७७ सालमा एसइई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीको बिदाइ र विद्यार्थीहरूका विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत रहेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने शिक्षक पम्फा अधिकारीको रहेको थियो ।      

प्रतिक्रिया दिनुहोस्