प्राविधिक कर्मचारी थप गरी सेवा चुस्त गर्न बेलबारी नगरपालिकाको निर्वाचन आयोगलाई आग्रह


बेलबारी, २३ मङ्सिर । बेलबारी नगरपालिकाले फोटासहितको नामावली सङ्कलन कार्यमा प्राविधिक कर्मचारी थप गरेर सेवालाई चुस्त गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्राविधिक कर्मचारी न्यून हुँदा जनताले लामो समयसम्म लाइनमा बस्दा पनि पालो नपाइ निरास भएर घर फिर्नु परेको खबर सार्वजनिक भए पछि नगरपालिकाले निर्वाचन आयोगसँग यस्तो आग्रह गरेको हो । 

बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै फोटोसहितको मतदाता नामावली लिने कार्य विशुद्ध प्राविधिक भएको, निर्वाचन आयोगकै कर्मचारीमै भर पर्नु पर्ने हुँदा अपेक्षाकृत रूपमा काम छिटो हुन नसक्दा जनताले केही दुःख पाएको स्वीकार गर्दै त्यसको निराकरणका लागि आफूहरू लागिरहेको बताए । 

केही दिन अघि मात्र बेलबारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका कार्कीले निर्वाचन आयोगसँग प्राविधिक कर्मचारी थप गर्ने बारेमा कुरा भइरहेको पनि बताए । 

उनले भने –निर्वाचन आयोगका प्राविधिक कर्मचारी कम हुँदा केही समस्या आएको पक्कै हो । नगरपालिकाले आफ्ना कर्मचारी खटाएर व्यवस्थापकीय कार्य गरिरहेको भए पनि फोटासहितको नामावली सङ्कलन गर्ने काम निर्वाचन आयोगकै कर्मचारीले गर्ने भएकोले केही ढिला भइरहेको छ । तर नगरपालिकाले आयोगसँग प्राविधिक कर्मचारी थप्ने बारेमा कुरा गरिरहेको छ ।’  

निर्वाचन आयोगले मङ्सिर १८ गते शनिवारदेखि प्रत्येक पालिकामा कार्यालय खडा गरेर फोटोसहितको मतदाता नामावली लिइरहँदा पूर्व तयारीमा उचित ध्यान नपुर्‍याउँदा कतिपय स्थानमा धेरै समस्या देखिएको छ । आयोगका प्राविधिक कर्मचारी सीमित हुँदा बिहानदेखि नाम टिपाउन लाइनमा लागेका सर्वसाधारणहरू पालो नआए पछि त्यतिकै फर्कन विवश छन् ।  

११ वटा वडा रहेको बेलबारी नगरपालिकाका लागि एक जना कर्मचारीले मात्र फोटोसहित नामावली लिने काम गरिरहेका छन् । बिहिवार सम्म आइपुग्दा वडा नं १ देखि ६ सम्मका वडाहरूको मतदाता नामावली लिन काम भइसकेको छ । तर सकिएका ती वडामा धेरै नागरिकले नामावली टिपाउन पाएकै छैनन् । झन् केही वडाका त आधाभन्दा बढी नामावली टिपाउन छुटेका छन् । 

प्रतिक्रिया दिनुहोस्