आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै


मोरङ, २४ मङ्सिर । आज (शुक्रवार) अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । प्रत्येक वर्ष डिसेम्बर १० का दिन मनाइने यो दिवस आज नेपालमा पनि मनाइँदै छ ।

सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ । आजकै दिन मानव अधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको थियो । यो घोषणा पत्र सबैभन्दा बढी ५०० भाषामा अनुवाद गरिएको छ ।


विगत दश वर्षे सशस्त्र युद्धको समय तथा अन्य समयमा पनि ठूलो सङ्ख्यामा हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हननका घटनाहरू भएका थिए । द्वन्द्वको कालखण्डमा सन् २००३ र २००४ नेपाल विश्वमै सर्वाधिक नागरिक बेपत्ता पारिने मुलुक नै बन्न पुगेको थियो । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार द्वन्द्वका बेला दुवै पक्षद्वारा नियन्त्रणमा लिएकामध्ये १ हजार ३ सय ५० भन्दा बढी नागरिकको अझै पत्तो लाग्न सकेको छैन ।

मुलुक संक्रमणकालमा गुज्रिनुका साथै नयाँ संविधान जारी हुन नसक्दा मानव अधिकारको अवस्था जोखिमपूर्ण रहेको अधिकारकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्