नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु


काठमाडौँ, २४ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । दिउँसो १ बजे भृकुटीमण्डपमा हुने उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको नेपाली काँग्रेसले जनाएको छ ।

कोरोनाका कारण सहभागी सङ्ख्या बढी नहुने अनुमानका साथ उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको नेपाली काँग्रेसले जनाएको छ । पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उनले बताए ।

काँग्रेसको यस महाधिवेशनमा ४,७०० महाधिवेशन प्रतिनिधि रहने छन् पार्टी कार्यालयले जनाएको छ ।सत्तारुढ दल नेपाली काँग्रेसको उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरूका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र काँग्रेस आइका प्रतिनिधि कोसमेत उपस्थिति हुने भएका छन् । 

शुक्रवारको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा भाग लिन भारतीय जनता पार्टीका नेता हर्ष बर्धन र तृणमूल कङ्ग्रेस नेता मुकुल रोयसहित चार जना नेताहरू काठमाडौँ आइपुगेको र बाँकी अतिथिहरू पनि आउने क्रम जारी रहेको काँग्रेसका सह महामन्त्री प्रकाशशरण महतले बताए । 

काँग्रेसले आफ्नो उद्घाटन समारोहलाई छोटो र प्रभावकारी बनाउने भएको छ । उद्घाटन समारोह २ घण्टाभित्र सक्ने गरी व्यवस्थापन मिलाइएको काँग्रेसले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्