मोरङको बूढीगङ्गामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु


मोरङ, २७ मङ्सिर । मोरङको बूढीगङ्गामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरिक दिनेश पटेल रहेको प्रहरीले जनाएको छ । 

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले कोसी लोक मार्गअन्तर्गत बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प ४२७३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ४० वर्षीय दिनेश पटेलको मृत्यु भएको बताएका छन् । 

सडक पार गर्दै गरेको अवस्थामा उनलाई आइतबार राति ८ बजेतिर तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा परेर घाइते भएका पटेलको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा आज (सोमबार) बिहान ६ः३० बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जनाकारी दिएका छन् । 

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३० वर्षीय अशोक अधिकारी पनि घाइते भएका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको बताएको छ । 

प्रतिक्रिया दिनुहोस्