काँग्रेसको मतदान चल्दै, राति ९ बजेसम्म मतदान गर्न पाउने


काठमाडौँ, २७ मङ्सिर । नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशन अन्तर्गत आज (सोमबार) भएको मतदान राती ९ बजेसम्म चल्ने भएको छ । ८ बजेदेखि मतदान कार्य सुरु हुने भनिए पनि मतपत्र छपाइ लगायतका कारणले मतदान तीन घण्टा ढिलो गरेर सुरु भएको थियो । 

निर्वाचनमा मतदाताको सङ्ख्या र हालसम्म खसेको मतको सङ्ख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् ।

पौने ६ बजेसम्ममा दुई हजार ८०९ मत खसेको बताइएको छ । काँग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । 

सभापति पदमा शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन् । १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्